प्रदेश १ मा विराटनगरका १९० सहित थप ४५२ जनामा कोरोना पुष्टि

प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा दुई सय ४२, सुनसरीमा एक सय ८४, झापामा आठ, इलाममा दुई, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा एक/एक र प्रदेश १ बाहिरका जिल्लाका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा एक सय ९० जनामा संक्रमण देखिएको छ । बेलबारीमा १६, बुढीगंगामा ११, सुन्दहरैचामा चार, रतुवामाई र धनपालथानमा तीन/तीन मिक्लाजुङ र कटहरीमा दुई/दुई , सुनबर्षी, ग्रामथान र जहदामा एक/एक र स्थानीय तह नखुलेका आठ जनामा संक्रमण देखिएको छ ।

उता सुनसरीको धरानमा ८६, इटहरीमा ६८, बराहक्षेत्रमा १८, दुहवीमा तीन, इनरुवा र गढीमा दुई/दुई कोसी गाउँपालिकामा एक र स्थानीय तह नखुलेका तीन, झापाको दमक र भद्रपुरमा तीन/तीन, अर्जुनधारा र स्थानीय तह नखुलेका एक/एक, इलामको फाकफोकथुम र स्थानीय तह नखुलेका एक/एक, खोटाङको साकेलामा एक, उदयपुरको चौदण्डीगढीमा एक, धनकुटामा एक, भोजपुरमा एक र प्रदेश १ बाहिरका १२ जना रहेको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कुला कोरोना संक्रमितको संख्या १० हजार सात सय ५१ पुगेको छ ।

प्रदेश १ मा आज ४४ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४०, विराट मेडिकल कलेजबाट दुई र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट दुई जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या चार हजार आठ सय ५५ पुगेको छ ।

प्रदेश १ मा सोमबार एक हजार एक सय ७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये एक सय ८८ महिला र दुई सय ६४ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ । हालसम्म १ लाख ३८ हजार छ सय ९२ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा एक सय ५ जनाको मृत्यु भइसकेको छ । जसमध्ये १५ जना प्रदेश १ बाहिरका रहेका छन् ।