
काठमाडौं : आइतबार खण्डग्रास सूर्यग्रहण १० बजेर ५५ मिनेटदेखि शुरु भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणकाअनुसार मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्य र अपराह्न २ बजेर २३ मिनेटमा ग्रहणले मोक्ष प्राप्त गर्ने छ ।
तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गौतमले जानकारी दिए ।
वाल्मीकि क्याम्पसका सहप्राध्याक तथा वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिन्छ । उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुने छ ।
यस्तै नेपालको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने खगोलविद् आचार्यले जानकारी दिए ।
शास्त्रीय मान्यताअनुसार असार ६ गते राति १० बजेर ५० मिनेटदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ।
ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।
ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।