
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय, विपीनगर, डोटीका प्रहरी निरीक्षक नृपबहादुर बोहराविरुद्ध विशेष अदालत, काठमाठौँमा आरोपपत्र दर्ता गरेको छ ।

वैध काठ तस्करी गरेर टयाक्टरमा लोड गरिरहेको अवस्थामा प्रहरी निरीक्षक बोहोरालाई आयोगले साउन २ गते नियन्त्रणमा लिएको थियो ।



बोहराले ५३.९ क्यू फिटकाठ टयाक्टरमा लोड गरिरहेको समयमा स्थानीयहरुले काठ पक्राउ गरी नियन्त्रणमा लिएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा भ्रष्टाचारजन्य कसुर गरेको प्रमाणित हुन आएकोले आयोगले प्रहरी प्रधान कार्यालयलाई निलम्बन गर्न पत्राचार समेत गरेको छ ।

बोहराले सामुदायिक वनको सार्वजनिक सम्पत्ति बदनियतपूर्ण तबरले हानिनोक्सानी गरेको तथा सो कार्यलाई ढाकछोप गर्न सामुदायिक वन उपभोक्ता समितिलाई गैरकानूनी दबाब दिएको खुल्न आएको अयोगका प्रवक्ता प्रदीप कोइरालाले बताए ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा १८ बमोजिम कसुर गरेको देखिन आएकाले बोहरालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को आधारमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) र दफा १८ बमोजिम ६१ हजार २० रुपैयाँ मागदाबी गरिएको छ ।
त्यस्तै केदार सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष चक्रबहादुर साउदले इलाका प्रहरी कार्यालय विपीनगरलाई विना छुटपुर्जी दिने निर्णय गरी आफ्नो समुदाय मातहतको सरकारी सम्पत्तिको रुपमा रहेको सार्वजनिक वन हिनामिना गरेको साथै बोहराले गरेको कसुर लुकाउन भूमिकासमेत खेलेको आरोप लागेको छ ।
साउदविरुद्ध ६१ हजार २० रुपैयाँ माग दावीसहित विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।