
बुटवल । दाङमा एक वडाध्यक्षमाथि कार्यकक्षमै कुटपिट भएको छ । जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष फर्साराम डाँगीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुमित खड्काले जानकारी दिए ।
घटनास्थलमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।
मुखुण्डो लगाएर चारजनाको समूहमा कार्यालयभित्र प्रवेश गरेका उनीहरुले अध्यक्षमाथि कुटपिट गरेको बताइएको छ । कुटपिट गर्नुको कारण खुल्न सकेको छैन ।
वडा अध्यक्षलाई सो समूहले रडजस्तो वस्तुले हान्दा चोटपटक लागेको डीएसपी खड्काले बताए । घाइते भएका वडाअध्यक्षलाई उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले कुटपिटमा संलग्नको खोजीकार्य भइरहेको जनाएको छ ।