
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजारको कोरोना भाइरस परीक्षण गर्ने प्रतिबद्धता जनाएका थिए ।
पछिल्लो एक सातको तथ्यंक हेर्दा प्रति दिन ५ हजारको हाराहारीमा परीक्षण भएको छ । मंगलबार ६ हजार १ सय ३३ जनाको परीक्षण गरिएको थियो ।
सरकारले परीक्षणको दायार बढाउने भन्दै निजी प्रयोगशालालाई पनि परीक्षणको अनुमति दिएको छ ।
२५ वटा सरकारी प्रयोगशालाबाट परीक्षण भइरहेको छ भने ८ वटा प्रयोगशाला थप गरेर ३३ वटा प्रयोगशाला पुर्याउँदै छ । सरकारले प्रयोगशाला बढाउादै लगेको छ तर कोरोना परीक्षणको दायरा भने घट्दो छ ।
किन घट्यो परीक्षणको दायरा ?
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकाका सूचना अधिकारी राजेश गुप्ताले स्याम्पल संकलन नै कम भएको बताए ।‘स्याम्पल संकलन कम भएको छ । क्वारेन्टाइनमा बसेकाको पनि परीक्षण सकियो । अब कसको परीक्षण गर्ने नयाँ मापदण्ड बनाउनुपर्छ । पूरानो मापदण्ड अनुसार सबैको परीक्षण सकिएको छ ।’
दैनिक १० हजार परीक्षण गर्ने प्रयोगशाला बनिसकेको उनले बताए । ‘मन्त्रीज्यूले भनेजस्तै दैनिक १० हजारको परीक्षण गर्न सक्ने क्षमताको प्रयोगशाला बनिसक्यो,’ उनले भने, ‘स्याम्पल संकलन कम भएकाले कम परीक्षण भएको हो । परीक्षण गर्ने मान्छे कम आएका छन् ।’
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दैनिक २ हजारको परीक्षण गर्न सक्ने क्षमता छ । तर पछिल्लो दिन ५/६ सयको हाराहारीमा परीक्षणको लागि स्याम्पल आएको छ । काठमाडौं उपत्यका बाहिरका कतिपय ल्याब त खाली बसेका छन् ।
अब ४४ हजारको परीक्षण
इपिमिडियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेले देशभरबाट ४४ हजारको परीक्षण गर्ने बताए । कोरोना भाइरस समुदायमा गएको हो होइन भनेर हेर्नका लागि ४४ हजारको परीक्षण गर्न लागिएको हो । अहिले काठमाडौं उपत्यकाको १० वटा ठाउँमा परीक्षण गरिदैछ ।
‘देशभरबाट ४४ हजार स्याम्पल परीक्षण गर्ने योजना छ । त्यो सबै रिपोर्ट आएपछि मात्र समुदायमा गएको हो होइन भन्न सकिन्छ,’ उनले भने ।
अब समुदायमा परीक्षण
अहिलेसम्म छिमेकि देश लगायत विदेशबाट आएका, होल्डिङ सेन्टरमा राखिएका, संक्रमितको सम्पर्कमा रहेका र जाँचका लागि अस्पताल पुगेको मात्र परीक्षण गरिएको थियो । अब समुदायमा परीक्षण गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले समुदायमा कोरोना भाइरस छिरेको बताए । ‘समुदायमा कोरोना भाइरस छिरेको छ । अब समुदायस्तरमा पनि परीक्षण गरिनुपर्छ,’ उनले भने । डा. रवीन्द्र पाण्डेले काठमाडौंमा परीक्षण नै नभएकाले बताए ।
‘काठमाडौंको समुदायमा परीक्षण नै भएको छैन । काठमाडौंका सबै ठाउँमा पोजिटिभ देखिएको छ,’ उनले भने, ‘त्यसैले समुदायमा परीक्षण गर्नुपर्छ । काठमाडौंमा परीक्षण नगर्ने हो भने पछि नियन्त्रण गर्न गाह्रो हुन्छ ।’