
नेपालमा अझै ५ दिनसम्म अत्यधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

न्यूनचापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र सो रेखा नहटेसम्म वर्षात जारी रहने विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई ब्रिफिङ गरेका थिए ।



त्यस क्रममा वैद्यले ९ साउनपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जाने उल्लेख गरे । उनकाअनुसार नेपालको प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षा भइरहेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकका अधिकांश स्थानमा एक सय मिलिलिटर वा सो भन्दा बढी पानी परिरहेको वैद्यले बताए । यो मात्रा अझै बढेर २ सय मिलिलिटर पानी पर्ने सम्भावना छ ।
न्यूनचापीय रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केहीदिन पूर्वी पहाडी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको वैद्यले बताए ।
२४ घण्टामा कहाँ पर्यो धेरै पानी ?
विभागका महानिर्देशक वैद्यका अनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १ सय ६९ मिलिमिटर पानी परेको छ ।
यस्तै नवलपुरको डण्डामा १ सय ५०.६, तनहुँको श्याम्घामा १४८.८ तथा गोरखामा १४०।२ मिलिमिटर पानी परेको छ । यो परिणाममा अझै वृद्धि हुने वैद्यले बताए ।
‘यो पछिल्लो २४ घण्टाको विवरण हो’, वैद्यले भने, ‘यो अझै बढ्छ र धेरै स्थानमा २ सय मिलिमिटरसम्म पानी पर्छ ।’
नारायणीले खतराको तह नाघ्यो
चितवनको देवघाटस्थित नारायणी नदीमा पानीको सहतले खतराको तहपार गरेको हो । सो स्थानमा जल सतह ८ मिटर नाघेपछि खतराको तह पार हुनेमा ९ मिटर माथि आइसकेको छ । वर्षा नरोकिएकाले जल सतह थप बढ्ने अनुमान गरिएको छ ।
यस्तै नारायणघाटको पुलमा जलसतहले सतर्कताको तह पार गरेको हो । सो स्थानमा जल सतहले ११ मिटर नाघेपछि सतर्कताको तहपार हुनुपर्नेमा जलसतहले ११.९८ मिटर पार गरेको वैद्यले बताए ।
विभागले खतराको तह पार गरेको स्थानका तल्लो टतीय क्षेत्रका बासिन्दालाई सो स्थान छाडेर सुरक्षित स्थानमा जान तथा सतर्कताको तह पार गरेको स्थानका तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
पूर्व नपलपरासी र चितवनका तल्लो तटीय क्षेत्रमा बाढीको उच्चजोखिम रहेकाले सतर्क रहन भनिसकिएको वैद्यले जानकारी दिए ।
यस्तै कोसी नदीमा सतर्कताको तह पार गरेकाले भोलिसम्म खतराको तहपार गर्न सक्ने अनुमान गरिएको छ । यस्तै कमला, कन्काई, बागमती र ती नदीका सहायक नदीमा बाढीले खतराको तहपार गर्न सक्ने अनुमान विभागले गरेको छ ।
यो वर्ष आगामी कात्तिकसम्मै वर्षात हुने सम्भावना रहेको छ । सामान्यतया मनसुन असारमा सुरु भएर असोजमा सकिने भएपनि यो वर्ष भने झण्डै एक महिनापछिसम्म पानी पर्ने देखिएको छ ।
चार महिनामध्ये असारको मध्यदेखि भदौ मध्यसम्म अत्याधिक वर्षा हुने गर्दछ । तर, यो पटक मौसम सक्रिय भएदेखि नै वर्षातको दर उच्च छ ।
‘चार महिनामध्ये असारको मध्यदेखि भदौ मध्यसम्म पानी बढी पर्ने समय हो’, महानिर्देशक वैद्यले भने, ‘तर यो पटक मनसुनको सुरुदेखि नै अत्यधिक पानी परिरहेको छ, कात्तिकसम्म पर्ने देखिन्छ । एक वर्षमा पर्ने पानीको ८० प्रतिशत पानी मनसुनको चार महिनामा पर्ने उनले जानकारी दिए ।
हरेक मनसुनमा बाढी पहिरोका कारण हुने क्षति घटी बढी हुने भन्दै वैद्यले यसपटक हिउँदमा र प्रिमौसममा समेत बढी पानी परेका कारण जमिन धेरै गलेकाले बाढी पहिरोको प्रकोप उच्च भएको बताए ।
हरेक दिन मिडिया ब्रिफिङ
मौसम पूर्वानुमानबारे जानकारी लिएपछि मन्त्री पुनले पछिल्लो समय नेपालको मौसम पूर्वानुमान प्रणालीमा धेरै सुधार गरिएको बताए ।
आगामी दिनमा विभागबाट जारी हुने मौसम सम्बन्धी सूचना थप विश्वसनीय बनाउनुपर्नेमा उनको जोड थियो ।
‘पहिलाको तुलनामा अहिले हामीले जल तथा मौसमको पूर्वानुमान प्रतिविश्वास गर्न सक्ने आधार बनाएका छौं,’ मन्त्री पुनले भने, ‘आगामी दिनमा थप विश्वसनीय बनाउनुपर्छ ।’
उनले मौसम पूर्वानुमानका लागि राज्यले प्रविधि र जनशक्तिमा धेरै लगानी गरेको भन्दै पूर्वसूचना प्रदान गरेर जनताको जीवन बचाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिए । ‘बाढी र पहिरोको सही सूचना सही समयमा दिऔं, सूचना नपाएका कारण एक जनाले पनि ज्यान गुमाउनु नपरोस्,’ उनले भने ।
यस्तै बाढी पहिरोको सूचनालाई थप प्रभावकारी बनाउन भोलि ९सोमबार० देखि अधिक वर्षात नरोकिएसम्म हरेक दिन मन्त्रालयमा मिडिया ब्रिफिङ गर्न मन्त्री पुनले विभागलाई निर्देशन दिए ।
विभागले सोमबारदेखि बिहान हरेक दिन बिहान ११ बजे सामाजिक दूरी कायम गर्दै मिडिया ब्रिफिङ गर्ने भएको छ ।