
नेपाली सेनाले ६ सय वटा इन्सास राइफल सशस्त्र प्रहरीलाई प्रदान गरेको छ ।
नेपाली सेनाका युद्धकार्य महानिर्देशक उपरथी राजेन्द्र कार्कीले सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेललाई राइफल हस्तान्तरण गरेका हुन् ।
माओवादीको सशस्त्र द्वन्द्वका समयमा यी हतियार भारतबाट ल्याइएका थिए । क्षमता अभिवृद्धिका लागि सहयोग स्वरुप ती हतियार सशस्त्र प्रहरीलाई प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।
हाल सशस्त्र प्रहरीसँग ७.६३ एमएमको एसएलआर राइफल थियो । १५ असारको मन्त्रिपरिषद बैठकले सेनासँग भएका हतियार सशस्त्र प्रहरीलाई दिने निर्णय गरेको थियो ।
यी हतियार सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई दिइनेछ । राइफलका साथै नेपाली सेनाले हतियार मर्मतबारे १५ दिने तालिम समेत सशस्त्र प्रहरीलाई दिनेछ ।
नेपाली सेनाले भने १० हजार वटा अत्याधुनिक राइफल अमेरिकाबाट भित्र्याउने तयारी गरिरहेको छ । हतियार हस्तान्तरण समारोहमा नेपाली सेना र सशस्त्र प्रहरीका उच्च अधिकारीहरू समेत सहभागी थिए ।