सात लाख मूल्य बराबरको अवैध ओरीयन्स कम्पनीको औषधी बरामद

झापा । झापाको शिवसताक्षी नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गबाट प्रहरीले करिब रु सात लाख मूल्य बराबरको अवैध औषधि बरामद गरेको छ । भन्सार छलेर ल्याउँदै गरिएको अवस्थामा प्रहरीले उक्त मूल्य बराबरको ओरियन्स कम्पनीको ३०७ बट्टा औषधि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

उनका अनुसार सोमबार दिउँसो दुईवटा मोटरसाइकल र एउटा स्कुटरमा सवार गरी आएका छ जना मानिसलाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा सो मूल्य बराबरको औषधि बरामद गरेको हो ।

भारतबाट ३०७ वटा बट्टामा प्याक गरी नेपाल तर्फ चोरी तस्करी गरी अबैध रुपमा ल्याएको पाईएपछी उक्त कम्पनीको औषधी बरामद गरिएको र बरामद गरिएको औषधी, मानिस तथा सवारी साधनहरु आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ ।

यसअघि प्रहरीले अवैधरुपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा मेचीनगरबाट करिब रु २० लाख बराबरको ओरियन्स कम्पनीकै विभिन्न नामका औषधिसमेत बरामद गरेको थियो ।