एक दशकमा नेपालमा ४० लाखले रोजगारी पाए

काठमाडौं । विश्व बैंकले पछिल्लो एक दशकमा नेपालमा ४० लाख जनशक्तिका लागि रोजगारी सिर्जना भएको रिपोर्ट सार्वजनिक गरेको छ । ‘नेपाल जब डाइग्नोष्टिक रिपोर्ट’मा विश्व बैंकले कृषिबाट ठुलो जनशक्ति विस्तारै अन्य क्षेत्रतर्फ आकर्षित हुँदै गएको जनाएको छ ।

कृषि बाहेक अन्य क्षेत्रको आकर्षणले नै नेपालको ठूलो जनशक्तिमा रोजगार सृजना गराएको रिपोर्टमा उल्लेख छ । तर गुणस्तरीय काम भने पाउन नसकेको उल्लेख गरिएको छ । त्यसमाथि पनि महिलाहरुले श्रमको उचित ज्याला पाउन नसकेको रिपोर्टमा उल्लेख छ ।

पछिल्लो समय वैदेशिक रोजगारमा जानेहरु उल्लेख्य बढेका छन् । त्यस्तै निर्माण क्षेत्रमा ठुलो संख्यामा पुरुषहरुले काम गर्न थालेका छन् । धेरैजसो मानिसहरु अनौपचारिक क्षेत्रमा अस्थायी काम गरिरहेका छन् । उत्पादनमूलक उद्योग, व्यापार र यातायातको क्षेत्रमा पनि काम गरिरहेका छन् । रोजगारीका कारण मानिसको जीवनस्तरमा सुधार आएको रिपोर्टमा भनिएको छ । कुल रोजगारीमध्ये नियमित तलबी सन् २००८ मा १७ प्रतिशत रहेको थियो भने सन् २०१८ मा बढेर २४ प्रतिशतमा पुगेको उल्लेख छ ।

सन् २०१८ मा नेपालमा ३८ लाख मानिसहरु रोजगारी गर्दथे । जसमध्ये २८ लाख जनशक्ति वैदेशिक रोजगारीमा थिए । वैदेशिक रोजगारीमा जानेहरुमध्ये अधिकांश ३५ बर्ष मुनिका पुरुष छन् । उनीहरुले माध्यमिक तहभन्दा मुनीको शिक्षा मात्रै प्राप्त गरेका छन् ।

हाल बागमती प्रदेशले यसबैभन्दा धेरै रोजगारी सिर्जना गरेको छ । जसमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा मात्रै रोजगारी सिर्जना भएको छ । भूकम्पपछिको पुर्ननिर्माणका क्रममा साढे ५ लाख मानिसले रोजगारी पाएको पनि प्रतिवेदनमा उल्लेख छ ।