
स्याङ्जा/ असोज ८ , स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोमा परी एकै परिवारका ८ जना पुरिएर बेपत्ता भएका छन् ।
पहिरोमा पुरिएका एक जनाको भने उद्दार गरिएको छ । केही दिनदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा उनीहरु पुरिएका हुन् ।
पहिरोमा पुरिएका १ जनाको उद्दार गरिएको र अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
उता पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकीमा एक युवकको मृत्यु भएको छ ।
तीन दिनदेखिको लगातार वर्षाका कारण घरमाथिबाट खसेको पहिरोमा परी स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गौतम टोलका १८ वर्षीय कृष्ण नेपालीको मृत्यु भएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले बताए ।
वडा अध्यक्ष पाण्डेका अनुसार गएराति २ बजे गौतम टोलका मानबहादुर नेपालीको घरको आँगन खस्दा तल्लो घरमा सुतिरहेका कृष्ण नेपालीको पुरिएर मृत्यु भएको हो ।
स्थानीयवासी र विर्घा प्रहरी चौकीका प्रहरीको पहलमा पहिरोमा पुरिएका कृष्ण नेपालीको शव निकालिएको वडा अध्यक्ष पाण्डेले बताए । पहिरोमा पुरिएर एकको मृत्यु भए पनि अन्य भने सकुसल रहेका बताईएको छ ।