
काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह बुधबार दुई छोरी पूर्णिका र कृतिकालाई लिएर थाइल्यान्ड उडिन् । आइतबार मात्रै पूर्वराजाले दिएका अभिव्यक्तिलाई संकलन गरेर तयार पारिएको पुस्तक ‘सन्देश संग्रह’ सार्वजनिक गरेकी हिमानी सोमबार छोराछोरीलाई लिएर पशुपतिनाथ दर्शन गर्न गएकी थिइन् । बुहारी र नातिनातिना विदेश उडेलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह पनि थाइल्यान्ड जाने भएका छन् । पूर्वराजा ज्ञानेन्द्र निजी सचिव सागर तिमल्सिनाका साथ साउन २४ गते शुक्रबार बैंकक जान लागेका हुन् ।




उनको यो भ्रमण पारिवारिक रहेको निर्मल निवास स्रोतले जनाएको छ । दशैँको केही दिनअघि मात्र फर्कने गरी पूर्वराजाको परिवार थाइल्यान्ड जान लागेको हो । करिब तीन साता लामो भ्रमणको मिति तय गरी थाइल्यान्ड जान लागेका ज्ञानेन्द्र थाइल्यान्डलाई ट्रान्जिट बनाएर विभिन्न मुलुक भ्रमण गर्ने तयारी गरेको बताइएको छ ।

पूर्वराजा ज्ञानेन्द्र गत वर्ष पनि दशैँअघि थाइल्यान्ड गएका थिए । त्यसबेला उनले विभिन्न मुलुकको भ्रमण उतैबाट गरेका थिए । पूर्वराजाले चिनियाँ, भारतीय सरकारी प्रतिनिधिसँग पनि भेटवार्ता गरेका थिए । उनले भारत भ्रमण गरेर प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न खोजे पनि त्यो प्रयास सार्थक भएको थिएन । पछिल्लो समय मुलुकमा राजसंस्थाबारे सकारात्मक माहोल बनिरहेका बेला पूर्वराजाको थाइल्यान्ड भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।