
झापा: गौरादह नगरपालिका वडा नं. ७ स्थित सामुदायिक भवनको क्वारेन्टाइनमा असुबिधा रहेको गुनासो बढेको छ । बिगत १० दिन देखि स्वास्थ्यकर्मीहरु नआएको र जनप्रतिनिधिले समेत अवलोकन नगरेको भन्दै उक्त क्वारेन्टाइनमा बस्नेहरूले गुनासो गरेका हुन् । क्वारेन्टाइन बसेको १० दिन बितिसक्दा पनि पिसिआर परिक्षण नभएको, नयाँ आउनेहरूलाई पहिले देखि बसेकाहरू संग एकै ठाउँ कोचेर राख्ने गरेकोले त्रासको वातावरण सृजना भएको उनीहरुको आरोप छ ।
‘कहिले पिसिआर हुने हो थाहा छैन, कुनै जानकारी पनि गराइदैन, न स्वास्थ्यकर्मी आउछन् नत जनप्रतिनिधिको नै अनुहार देख्न पाइएको छ’, क्वारेन्टाइनमा रहेका युवाहरूले ओमकार टाइम्सको कार्यालयमा टेलीफोन गरेरै गुनासो टिपाएका छन् ।
खाना ३ पटक दिइएता पनि चना बाहेक अन्य परिकार कस्तो हुन्छ थाहा पाउन नसकेको, बिहान दिउसो र बेलुकाको खाना र खाजामा चना मात्र किन दिइन्छ भन्दै असन्तुष्टि प्रकट गरेका छन् ।
बिदेशमा रहदा क्वारेन्टाइनमा निशुल्क वाइफाइको सुबिधा रहेको हल्ला सुनेको तर अहिले वाइफाइ किन काटियो भन्दै आपत्ति प्रकट गरेका छन् ।
क्वारेन्टाइनमा तपाईंहरु किन जानुहुन्न ? व्यापक गुनासो आयो त ? भन्ने प्रश्नमा सरोकारवालाको जवाफ:
मेयर रोहित कुमार शाह- मलाई थाहा थिएन । पत्रकारले भनेपछि जानकारी पाएको छु, तुरुन्तै अनुगमन गर्छु, सम्बन्धित वार्डको वडाअध्यक्षले हेरबिचार गर्नुपर्ने हो, स्वास्थ्यकर्मीको टोलीलाई पुर्णरूपमा अधिकार प्रत्यायोजन गरेका छौँ, के भएको हो तुरुन्तै अनुगमन गरेर सत्यतथ्य बुझौंला ।
वार्ड अध्यक्ष बलराम खरेल- ‘मैले हेर्न जानै पर्छ भन्ने होइन, व्यवस्थापन गरेका छौँ, क्वारेन्टाइनमा कोहि पुगेन भन्ने कुरामा म चाहिँ सहमत छैन । स्वास्थ्य बिभागका साथीहरु जानिभएकै छ । क्वारेन्टाइन भनेको होल्डिङ पोइन्ट हो आइसोलेसनमा बसेकाहरूलाई हेरविचार गर्नु मुख्य जिम्मेवारी मानिन्छ । होल्डिङ पोइन्टमा कसैलाई ज्वरो आएको, रुघामर्की लागेको वा अन्य कुनै लक्षण देखिने बित्तिकै आइसोलेसनमा लाने हो, क्वारेन्टाइन भन्ने बित्तिकै घर जस्तो त कहाँ हुन्छ र ?’
यहि जिज्ञासा नगर स्वास्थ्य संयोजकलाई राख्दा वहाँ संग सम्पर्क हुनै सकेन । यद्यपि नगर स्वास्थ्य सह संयोजक गोबिन्द श्रेष्ठको भनाइ यस्तो रहेको छ – ‘वहाँहरुले भने जस्तो स्वास्थ्यकर्मी जाँदै नगएको भन्ने होइन, हामी गइरहेका छौँ, नियमित शेड्युलमा साथीहरू जानुहुन्छ, हामी पनि नियमित रूपमा पुगेकै छौँ, किन नजाने ? हाम्रो काम नै स्वास्थ्य सेवा दिने हो । अन्य स्थानीय तहले गरेको व्यवस्थापन भन्दा चाहिँ हाम्रो क्वारेन्टाइन निकै व्यस्थित छ । चना मात्र दिइएको भए त्यो गलत भयो भान्सेलाई भनेर आजै सुधार गर्न लगाइदिन्छु ।’
सामुदायिक बिद्यालय बाट क्वारेन्टाइन विस्थापित गरेर वडा नं. ७ को सामुदायिक हललाई क्वारेन्टाइनको रूपमा प्रयोग गरिएको छ । उक्त स्थानमा हाल १९ जना र सोही वडाको स्वास्थ्य केन्द्र भवनमा आइसोलेसन रुमको व्यवस्थापन गरिएको र हाल आइसोलेसनमा २ जना रहेको स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।
कोभिड १९ को नाममा करोडौं रकम अन्धाधुन्ध खर्च गरेको गौरादह नगरपालिकाले हाल सम्म के कति खर्च गरियो भन्ने कुनै तथ्यांक सार्वजनिक गर्न सकेको छैन । संकलित राहत सामाग्री बाटै क्वारेन्टाइनमा बस्नेहरूको खाना आपूर्ति गर्दै आएको बताइएता पनि के कति जिन्सी र के कति नगद खर्च भयो भन्ने समेत नागरिक तहलाई सामान्य जानकारी नगराउनु लाई नगरबासीले निकै गम्भीरतापुर्वक हेरेका छन् ।