
आईपीएल/किङ्स इलाभेन पन्जाबले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।
दुबईमा गएराति भएको खेलमा पन्जाबले दिल्लीलाई ५ विकेटले हराएको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य पन्जाबले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।
पन्जाबको जितमा निकोलस पुरनले ५३ रनको अर्धशतकीय इनिङ्स खेले भने ग्लेन म्याक्स्वेलले ३२ रनमा बनाए ।
यसैगरी क्रिस गेलले २९, कप्तान केएल राहुलले १५ रन बनाउँदा दिपक होडा १५ र जेम्स निशम १० रनमा अविजित रहे ।
दिल्लीका कागिसो राबडाले दुई तथा अक्षर पटेल र रविचन्द्र आश्विनले १–१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।
दिल्लीका लागि शिखर धवनले अविजित १ सय ६ रनको शतकीय इनिङ्स खेलेका थिए । धवनले लगातार दोस्रो खेलमा शतक बनाएका हुन् । उनले आईपीएलमा लगातार दुई शतक बनाउँदै ५ हजार रन समेत पूरा गरेका छन् । यस्तै कप्तान श्रेयस अय्यर र ऋषब पन्तले समान १४÷१४ रन बनाए भने शिम्रन हिटमायर १० रनमा आउट भए ।
पन्जाबका मोहमद शामीले २ तथा ग्लेन म्याक्सवेल, जेम्स निशम र मुरुगान आश्विनले १–१ विकेट लिए ।
यो जितसँगै पन्जाबले दिल्लीसँग सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा दिल्लीले पन्जाबलाई सुपर ओभरमा हराएको थियो । जितपछि पन्जाबले १० खेलमा ८ अंक जोडेर तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।
दिल्लीले भने तेस्रो हार भोगेको छ । उसको १० खेलमा १४ अंक रहेको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि दिल्लीको टिममा रहेपनि उनलाई अहिलेसम्म एउटा खेलमा पनि मौका दिएको छैन ।