
झापा: संघीय सांसद राजेन्द्रप्रसाद लिङ्देनले झापाका कोभिड अस्पतालको अवस्था दयनीय रहेको पाइएको बताएका छन् । बिहिवार झापाका ४ वटा अस्पताल निरीक्षण गरेका लिङ्देनले कोभिड बिरामीको उपचार गर्न खोलिएका अस्पतालको अवस्था पनि निकै कमजोर रहेको बताएका हुन् ।
कोभिडको समस्या आएपछि सबै खाले अस्पतालहरुमा सामान्य बिरामीले समेत उपचार नपाएको गुनासो बढेको बेला वास्तविक अवस्था के रहेछ र कसरी सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्यले लिङ्देनले अस्पतालहरुको अनुगमन गरेका थिए । अनुगमन बाट अस्पताल चाहार्दा चाहर्दै बिरामीको मृत्यु भएको घटना धेरै सुन्नु र भोग्नुपरेको बताउदै लिङ्देनले कोभिड बिरामी प्रती अस्पतालले सेवा नै नदिनु गम्भीर विषय भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । एउटा अस्पतालले अर्को अस्पताल देखाएर जनस्वास्थ्य माथी खेलवाड हुने गरेको अवस्थाको बारेमा समेत सरोकारवालालाई गम्भीर हुन आग्रह गरेका छन् । अस्पतालहरुको अवस्था बारे सञ्चारकर्मीहरुलाई जानकारी गराउदै मेची प्रादेशिक अस्पताललाई कोभिड अस्पताल भनेर नाम मात्र दिइएको बताए । बन्द कोठामा थुनेर राख्ने बाहेक अस्पतालले केही नगर्ने ? उपचार नगर्ने भए किन चलाउने अस्पताल ? लिङ्देनले प्रती प्रश्न गरे ।
कोभिडका बिरामीलाई कुनै उपचार हुँदै नहुनु अत्यन्तै दु:खद भएको भन्दै सांसद लिङ्देनले नागरिक उपचारमा सरकारले कुनै ध्यान नदिएको आरोप लगाएका छन् ।
‘कोभिडको उपचार राम्रो गरिन्छ भनेर अस्पतालले हल्ला मात्र गर्न गरेका छन् तर व्यवहारिक रूपमा कोभिडको उपचार गर्नको लागि झापा जिल्लामा एउटै पनि अस्पताल देखिएन, भेन्टिलेटर र आइसियुको व्यवस्थापन नाम मात्रको रहेछ’, सांसद लिङ्देनले भने ।