
लन्डन । बेलायतमा कोरोना संक्रमित हुनेको संख्या एक मिलियन नाघेको छ । शनिबार साँझ सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा थप २१ हजार ९ सय १५ जना कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १० लाख ११ हजार ६६० पुगेको हो ।
यसैगरि बेलायतमा कोरोना भाइरस (कोभिड १९) का कारण पछिल्लो २४ घन्टामा थप ३२६ जनाकोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी दिएको छ । योसँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४६ हजार ५५५ पुगेको छ । मृत्यु हुनेमा पछिल्लो २८ दिनभित्र कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरु रहेका छन् ।
कोरोनाको संक्रमण बढेसँगै अस्पताल भर्ना हुनेको संख्या पनि दैनिक सुपमा बढ्दै गैरहेको छ । पछिल्लो २४ घन्टामा एक हजार ४४४ जना कोरोना संक्रमितहरु अस्पताल भर्ना भएका छन् । हाल ९७८ जना कोरोना संक्रमितलाई भेन्टिलेटर बेडमा उपचारार्थ राखिएको छ भने १० हजार ९१८ जना कोरोना संक्रमितको अस्पतालमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।
पछिल्ला दिनहरुमा कोरोना भाइरस संक्रमण दर तीव्र रुपमा वृद्धि हुंदै गएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इंग्ल्याण्डमा दोस्रो चरणको एक महिना लामो राष्ट्रव्यापी लकडाउन घोषणा लकडाउन गर्ने तयारी गरेका छन् ।