सडक पिच गर्न माग गर्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ सडकमा

ललितपुर महानगरपालिकाको वडा नम्बर २७ सुनाकोठी क्षेत्रमा लामो समयसम्म पनि सडक कालोपत्रे नभएको भन्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसहितका स्थानीयले प्रदर्शन गरेका छन् ।

त्यहाँका स्थानीयले सडक कालोपत्रे गर्नुपर्ने माग राख्दै बाटो बन्द गरेर नै विगत तीन दिनदेखि आन्दोलनरत रहेका छन् । ठेकेदारले सडक कालोपत्रे गर्नका लागि अग्रिम भुक्तानी लिएर पनि काम नगरेको स्थानीयको आरोप छ ।

बिज्ञापन

त्यहाँका स्थानीयसमेत रहेका वरिष्ठ कलाकार श्रेष्ठले एउटा सडक कालोपत्रे गर्नका लागि हड्ताल गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए । सडक कालोपत्रे हुने आशामा रहेका जनताहरु धुलो खाएर विरामी हुने अवस्थासम्म पुग्दापनि काम नभएको उल्लेख गर्दै उहाँले देश कहाँ छ ? भन्दै प्रश्न गरे । उनले भने ‘‘लोकतन्त्रका लागि ज्यान हत्केलामा राखेर लड्यौँ । तर हामीले चाहेको लोकतन्त्र या थिएन् । हामीले चाहेको एउटा र अहिलेको लोकतन्त्र फरक छ । सरकार नै कसको हातमा छ भन्ने थाहा छैन ।’’

स्थानीयहरुले पनि सडक कालोपत्रे नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । विकास निर्माणको काम अवरोध गर्नेलाई राजनीतिक संरक्षण गर्दा समस्या उत्पन्न भएको स्थानीयको भनाई छ । अबिर लगाएर प्रतिनिधि बनाएकाहरुलाई जनताका समस्या नबुझे धुलो लगाउन पनि पछि नपर्ने स्थानीयहरुको भनाइ छ ।

अहिले ८ मिटर चौडा रहेको सडक २२ मिटर चौडा गर्न पनि ठेकेदार कम्पनी र सडक विभागबीच सम्झौता भइसकेको छ । सडक मर्मत गरी कालोपत्रे गर्न स्थानीयले पटक पटक अनुरोध गर्दै पटक पटक विरोध प्रदर्शन गर्दा पनि काम हुन सकेको छैन ।