मौसम अनुकुल हुँदा इलाममा चिया उत्पादनमा वृद्धि

इलाम । विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन–अटम सिजन) को चिया बढेको किसानले बताएका छन् ।

यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ । गएको वर्ष जस्तो पानी नपरेको र चिया पलाउन सहज भएकाले अपेक्षाकृत उत्पादन बढेको हो ।  उत्पादनसँगै चियाको मूल्यसमेत केही हदसम्म उच्च पाउन थालेपछि किसानको चियाप्रतिको वितृष्णासमेत घटेको छ ।

बिज्ञापन

प्रायः अन्य सिजनमा हरियोपत्ती चियाको प्रतिकिलो ३० रुपैयाँदेखि ४० मूल्य दिने उद्योगीले मूल्य बढाएर ५० पुर्याएपछि किसान हर्षित देखिएका छन् ।

‘भदौसम्म पानी परे पनि नयाँ सिजनमा मौसम राम्रो भएकाले उत्पादन बढ्यो’, सूर्योदय नगरपालिकाका चिया किसान डम्बर कटुवालले भने, ‘उद्योगीले पनि चियाको मूल्य बढाए, आम्दानी राम्रै भएको छ ।’ उनका अनुसार यस वर्ष दोब्बर चिया उत्पादन भएको छ । कटुवालले अनुसार यस वर्ष विगतका वर्षमा जस्तो चियामा रोग पनि नदेखिएको बताए ।

त्यसैले पनि चियामा किसानले धेरै खर्च गर्नुपरेन । चियाको उत्पादन बढेसँगै कारखानामा चिया धेरै आउन थालेको इलाम नगरपालिकास्थित साँखुजुङका उद्योगी टंक दाहालले बताए ।

गत वर्षमा पानी नै पानी परेको चिया उद्योगमा आउने गरे पनि यसपटक गुणस्तरीय चिया आएकाले चियाको तौल पनि बढेको उनको भनाइ छ । चियाको यस वर्षको अन्तिम सिजन नै यति बेला भएकाले किसान र उद्योगीले मुख्य फाइदा लिने समय पनि यति बेलै हो ।  यो सिजनको चिया गुणस्तरीय हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्यमा बिक्ने पनि गर्छ ।

यो सिजनको चिया अबको १५ देखि २२ दिनसम्म रहन्छ भने त्यसपछि चियाको काँटछाट र गोडमेलको सिजन सुरु हुन्छ । मुख्य सिजन भएकाले पनि स्याहारसुसार गर्न धेरै समय चियामा लाग्ने गरेको सूर्योदय नगरपालिकाका अर्का किसान डम्बर प्रधानले बताए ।

सिजनको सुरुबाटै आन्दोलनका कारण उल्लेखनीय फाइदा लिन नसकेका किसानलाई यो सिजनले केही राहत पुगेको प्रधानको भनाइ छ । अन्तिम सिजनको चिया टिपिसकेपछि भने करीब चार महिनापछि मात्र चिया टिप्ने गरिन्छ ।