
जलेश्वर : महोत्तरी जिल्लामा पक्राउ पर्ने लागूऔषधका कारोबारीको सम्पर्क सञ्जाल पहाड मधेशसम्म भएको पाइएको छ ।

लागूऔषधका कारोबारीले सञ्जाल नै स्थापना गरेर महोत्तरीका सीमावर्ती क्षेत्रबाट कारोबार चलाइरहेको पाइएपछि प्रहरीले लागूऔषध नियन्त्रणका लागि विशेष सर्च अभियान सञ्चालन गरेको छ । प्रहरीले लागूऔषध नियन्त्रणका लागि देखाएको यो सक्रियताका कारण लागूऔषध कारोबारी र प्रयोगकर्ताहरू धमाधम पक्राउ पर्न थालेका छन् । पक्राउ परेका लागूऔषधका कारोबारी र बरामद सामग्रीबाट यो अवैध कारोबारमा पाहाड मधेशबीच सम्पर्क सञ्जाल भएको पाइएको जिल्लास्थित सुरक्षा निकायले जनाएको हो ।



जिल्लाको सुदूरदक्षिणी भेग होस् वा मध्य र उत्तरी भेग । लागूऔषध ओसारपसार र यसको कारोबारमा पाहाडी जिल्ला मकवानपुरको सम्बन्ध बढी देखिने गरेको सुरक्षा निकायको निष्कर्ष छ । “हामीले चलाएको नियमित गस्ती र विशेष सर्च अभियानका क्रममा जिल्लाका विभिन्न ठाउँमा पक्राउ गरिएका व्यक्ति र लागुऔषध गाँजाको सम्बन्ध मकवानपुरसँग बढी जोडिएको पाएका छौं” जलेश्वर नगरपालिका–५ जलसागरस्थित सशस्त्र प्रहरी बल, ९ नम्वर गण हेडक्वार्टरका गणपति सुरेश सापकोटाले भने, “बुधबार राति हाम्रो टोलीले भारतीय सीमावर्ती एकडारा गाउँपालिका–३ मा बरामद गरेको गाँजासहितको पिकअप भ्यान र पक्राउ परेका व्यक्ति मकवानपुरकै रहेका छन् ।” बुधबार राति सशस्त्र प्रहरीको टोलीले ना ३ च ९६२४ नंको पिकअप भ्यानबाट ११० किलो गाँजासहित मकवानपुरको भिमफेदी गाउँपालिका–२ का करिब ३० वर्षीय अमरकुमार थिङ्गलाई पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।

यसअघि केही महिना पहिले एकडारा र महोत्तरी गाउँपालिकाको मडैमा बरामद गरिएको गाँजा पनि मकवानपुरमै उत्पादित भएको प्रहरीको निष्कर्ष छ । लागूऔषध गाँजा मकवानपुरका भित्री पाहाडी बस्तीबाट कारोबारीको सञ्जालले महोत्तरीको भारतीय सीमावर्ती बस्तीसम्म पुर्याउने र यहाँका कारोबारीले खुला सीमाको प्रयोग गर्दै भारत पु¥याउने गरेका प्रहरी अधिकारी बताउँछन् । जिल्लामा लागूऔषध ओसारपसार गर्नेले बर्दिबासलाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएर कारोबार गर्ने गरेका पाइएको छ । पाहाडी भेगमा उत्पादित गाँजा भारत पु¥याउने र भारतीय बजारबाट नेपालमा प्रतिबन्धित नशालु लागुऔषध लिएर फर्कने गरेका पाइने गरेको छ । यस्ता कारोबारमा जिल्लाको उत्तरी भेगको बर्दिबास नगरक्षेत्रका दुर्व्यसनी युवा प्रयोग हुने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए ।
जिल्लामा दत्र्ता हुने यस प्रकृतिका घटना र मुद्दामा बर्दिवाससम्बद्ध पक्ष ७० प्रतिशतभन्दा बढी हुने गरेको प्रहरी अधिकारीको भनाइ छ । जिल्लामा पछिल्ला सात वर्षयता बर्सेनि सरदर ३०÷३५ वटा लागूपदार्थ ओसारपसारका वारदात हुँदै आएका प्रहरी अधिकारी बताउँछन् । केही दशकपूर्व जिल्लाको हाल एकडारा गाउँपालिकाको अजमरपट्टीको गाँजा संसारभरीकै दुर्व्यसनीको रोजाइमा पर्ने गरेको बताइन्थ्यो । पछिल्ला दिनमा गाँजाखेती अबैध घोषित भएसँगै प्रहरी सक्रियताले यहाँ गाँजा खेती फाँडिन थालेपछि यसको कारोबार पाहाडी जिल्लासँग जोडिएको प्रहरी अधिकारीको भनाइ छ । मकवानपुरका कारोबारीले बर्दिबाससँगको नाता सम्बन्ध बढाएर यहाँका दुर्व्यसनीको मद्दतले सीमाक्षेत्रसम्म सञ्जाल सम्पर्क बढेको अनुसन्धानले देखाएको प्रनाउ बिष्टले बताए ।
लागूऔषध ओसारपसार, कारोबार र यसको दुव्र्यशन रोक्न प्रहरीको प्रयत्नमात्र पर्याप्त नहुने प्रहरी अधिकारीको भनाइ छ । खासमा जिल्लाको बर्दिबास नगरक्षेत्रका अभिभावकले आफ्ना सन्तानको निगरानी सुक्ष्म बढाएर उनीहरुको कारोबारीसँगको सम्बन्ध टुटाउन सबैले पहलकदमी लिन अपरिहार्य देखिएको प्रहरी अधिकारीको भनाइ छ । बर्दिबास नगरक्षत्रभित्र विद्यालय जाने विद्यार्थी पनि यस्तो कुसङ्गतमा परेका अनुसन्धानमा देखिने गरेको प्रहरीको भनाइ छ ।