
वीरगञ्ज : पार्टीलाई एक ढिक्का राख्न मन्त्री पद छाड्न आफू तयार रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन् ।
बिहीबार नेकपा पर्साको पार्टी कार्यालय वीरगञ्जमा नेता तथा कार्यकर्ताहरुसँगको भेटमा पर्यटन मन्त्री भट्टराईले सो कुरा बताएका हुन् ।
भेटमा उनले सरकार पुनर्गठन गर्दा पार्टीभित्रको विवाद अन्त्य हुने अवस्था आए राजीनामा दिन तयार रहेको बताएका हुन् ।
‘तपाई हामी जे सुकै कुरा त्याग्न तयार हुनुपर्छ, आज पर्यटन मन्त्री छु, पार्टी एक हुनका लागि सरकार पुनर्गठन गर्नुपर्ने भो, मन्त्री पद छोडिदिनुस् भन्नुहुन्छ भने हामी छोडिहाल्छौं, राजिनामा दिउँला,’ नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका भट्टराईले भने–‘के गर्दा पार्टी एकता बलियो हुन्छ त्यही गरौंला, पार्टीभित्र कुनै जिम्मेवारी मिलेको छैन भने मिलाउनुपर्छ, हिजो जिम्मेवारी बाँडफाँट गर्दा एक पक्षीय भएको छ भने मिलाएर जानुपर्छ । त्यसो गर्दा सरकार स्थिर र बलियो हुन्छ ।’
‘लडाईको मुख्य केन्द्र टुप्पीतिर छ, माथिल्लो तहमा अन्तर्विरोध छ, हामीलाई डन्डा हान्ने अधिकार छैन भनेपनि तिम्रो लडाईमा हामी भाग लिँदैनौ है भन्न सकिन्छ । त्यति भन्दा मात्रै पनि पार्टीभित्रको अन्तर्विरोधमा कमी आउँछ,’ उनले भने–‘नेतृत्वले अन्तर्विरोधमा कसैले साथ दिएको छैन भन्ने बुझेपछि सहमति, समझदारीको कुरा शुरु गर्न थाल्दछन् ।’
पार्टी दक्षिण वा उत्तरको सक्रियताले फुट्ने वा जुट्ने नभई नेता कार्यकर्ताको हातमा नै पार्टीको भविष्य रहेको बताउँदै उनले नेकपा घरेलु हो, नेपालमा पत्ता लागेको बिउ हो, नेपाली मल र हावापानीमा हुर्केको पार्टी भएको बताए । साथै उनले भने–‘आयातीत मल छैन, जैविक र मौलिक पार्टी हो । नेपाली सीप र प्रविधिले बनेको पार्टी हो । विदेशी सीप वा प्रविधिले बनेको होइन, ‘नेकपामा आयातीतको कुनै असर पर्दैन, यो पार्टी विकास हुने हो वा विनाश हुने पार्टी भित्रैबाट हुने हो ।’
पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद बढ्दै गएका कारण नेताहरुको अभिव्यक्ति सार्वजनिक भइरहेको छ ।