नेपाल भारत विदेश सचिवस्तरीय वार्ता शुरु

काठमाडौं : नेपाल भारत विदेश सचिवस्तरीय वार्ता शुरु भएको छ । दुवै देशका विदेशसचिवबीच काठमाडौंमा वार्ता भइरहेको हो ।

वार्तामा नेपालका तर्फबाट परराष्ट्रसचिव भरतराज पौड्याल र भारतका तर्फबाट परराष्ट्रसचिव हर्षबद्र्धन श्रृंगलाको नेतृत्वमा दुवै देशका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति छ । लामो समयदेखि नेपाल भारतबीच उत्पन्न विवादलाई यो वार्ताले समाधान गर्ने अपेक्षा गरिएको छ ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरी नयाँ नक्शा जारी गरेपछि दुवै देशबीच असमझदारी उत्पन्न भएको थियो । त्यसपछि नेपालले गरेको पटक पटक वार्ताको प्रयासलाई भारतले वेवास्ता गर्दैआएको थियो । त्यही क्रममा विदेशसचिव श्रृंगलाको नेपाल भ्रमणले दुवै देशबीच उत्पन्न समस्यालाई समाधान गर्दै सहकार्य, समन्वय र सहयोगको पूर्ववत बाटोमा डोर्याउने विश्वास गरिएको छ ।

यसअघि भारतका विदेश सचिव श्रृंगला विशेष विमानबाट बिहीबार काठमाडौँ आएका थिए । उनी दुई दिने नेपाल भ्रमणका क्रममा यहाँ आइपुगेका हुन् । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका उच्च तहका नेता तथा अधिकारीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।