
नेपालगञ्ज : राज संस्थाको माग गर्दै नेपालगञ्जमा हिन्दु राष्ट्रवादीहरुले मोटरसाइकल र्याली निकालेका छन् ।
शनिबार दिउँसो नेपालगञ्ज बागेश्वरी मन्दिर परिसरबाट निस्केको र्याली शहीद सेतु विकचोक, पुष्पलालचोक, वीरेन्द्रचोक, वीपीचोक, गणेशमानचोक, त्रिभुवनचोक हुँदै बागेश्वरी मन्दिर हँदै वीरेन्द्रचोकको परिक्रमा गरेको थियो ।
र्यालीमा हिन्दु राष्ट्रवादीहरुले ‘राजसंस्था जिन्दावाद, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, हिन्दु राष्ट्र कायम गर, राजा ल्याऊँ, देश बचाऊँ’ जस्ता नारा लगाएका थिए ।
र्यालीपछि कोणसभामालाई सम्बोधन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर एवं राप्रपाका नेता डा. धवलशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्था फिर्ता ल्याउनका लागि बलिदानी दिन तयार रहनुपर्ने बताए ।
‘गुमेको शक्ति फिर्ता ल्याउन यतिले मात्रै हुँदैन, सबै जना बलिदानी दिन तयार रहनुपर्छ,’ डा. राणाले भने–‘देशमा बढ्दै गएको जनलहरलाई शक्तिमा बदल्नु पर्छ ।’ साथै धर्म, संस्कृति र परम्परालाई जोगाउन सबै जना पार्टीभन्दा माथि उठ्नु पर्ने समेत उनले बताए ।