
झापा,मंसिर १९। पत्रकार खगेन्द्र घिमिरेमाथि कुटपिट गरेको आरोपमा मालपोत कार्यालय दमकका खरिदार इन्द्र राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ।

राजवंशीलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आज बिहान नियन्त्रणमा लिएको झापाका डिएसपी राकेश थापाले जानकारी दिए। ‘कर्मचारी राजवंशीलाई बयानका लागि नियन्त्रणमा लिएका छौं,’ डिएसपी थापाले भने, ‘त्यसपछि कानुन कारबाहीको प्रक्रिया अघि बढ्छ।’



कर्मचारी राजवंशीले कुटपिट गरेको भन्दै पत्रकार घिमिरेले इलाका प्रहरी कार्यालय दमकमा किटानी जाहेरी दिएका थिए। सोही आधारमा बिहीबार प्रहरीले मुद्दा दर्ता गरेका थिए। मुद्दा दर्ता भएसँगै जिल्ला प्रशासन कार्यालय झापाले कर्मचारी राजवंशीको नाममा पक्राउ पुर्जी जारी गरेका थिए।

प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मंगलबार करिब ४ बजेतिर शिवसताक्षीका सेवाग्राही सुरेश साहबाट खरिदार राजवंशीले काम गरिदिने भन्दै रु १० हजार घुस दिएको भिडियो खिचिरहेका अनुसन्धान अनलाइनका पत्रकार खगेन्द्र घिमिरे र क्यामेराम्यान भास्कर श्रेष्ठमाथि हातपात गरेको आरोप छ।
सो घटनाको नेपाल पत्रकार महासंघ झापा शाखालगायतले घोर निन्दा र भत्र्सना गरेका गर्दै दोषीमाथि कारवाही गर्न माग गरेका थिए। यसैगरी बिहीबार मालपोत कार्यालयका प्रमुख तारानाथ दंगालले घटनाप्रति दुःख प्रकट गर्दै त्यसको निष्पक्ष छानबिन गर्न विज्ञप्तिमार्फत आग्रह गरेका छन्।