संसद विघटनको सिफारिस अस्वीकार गर्न राष्ट्रपतिलाई काँग्रेसको आग्रह

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँँग्रेसले संसद विघटनको सिफारिस अस्वीकार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । आइतबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।

‘यस्तो असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न सम्माननीय राष्ट्रपतिलाई अपिल गर्दै नेपाली काँग्रेस संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पार्टीका साथीहरू, सबै राजनीतिक दल, संघसंस्था र समस्त लोकतन्त्रवादी नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा शर्माले भनेका छन् –‘आफ्नो पार्टीभित्रको द्वन्द्वको परिणाममा मुलुकलाई अस्थिरतातर्फ पुनः धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय छ ।’

जनता कोरोनाको मारमा रहेका बेला सत्ताको जितहारको द्वन्द्व आफैँमा लज्जास्पद रहेको उनको भनाइ छ । साथै संसद विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नका रूपमा पार्टीले लिएको बताउँदै त्यसलाई असफल तुल्याइने पनि उनले भनेका छन् ।