
काठमाडौं : नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि चितवनमा जारी मतदान सम्पन्न भएको छ। एमालेको ३०१ सदस्य केन्द्रीय कमिटी चयन गर्न चितवनको सौराहास्थित होटल सेभेन स्टारमा आज (मंगलबार) बिहानै ४ बजे सुरु भएको विद्युतीय मतदान केही बेरअघि सकिएको हो। विहान १० बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समयमा एमाले निर्वाचन आयोगले आधा घण्टा समय थप गरेको थियो।

२१७५ जना प्रतिनिधि रहेको एमाले महाधिवशेनमा २ हजार ८१ मत खसेको छ। अब केहीबेरमा मतगणना सुरु हुनेछ । एमालेले विद्युतिय मेसिनबाट मतदानको व्यवस्था गरेको थियो। यसो हुँदा मतगणनाका लागि धेरै समय नलाग्ने भएको हो । निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले परिणाम घोषणा गर्न धेरै समय नलाग्ने बताए । डिजिटल मतलाई कागजमा मुचुल्का उठाएर सबै बुथको मत जोडेपछि परिणाम घोषणा गर्ने तयारी भएको उनले बताए । अधिकतम लागे दिउँसो २ बजेसम्म घोषणा भइसक्ने उनले जानकारी दिए।



एमालेको अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन् भने ६ उपाध्यक्षका जागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार छन् । सात सचिवका लागि गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट चुनावी मैदानमा रहेका छन् ।
