देशभर तापक्रम घट्दै, चिसोबाट बच्न मौसमविदको अपिल

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रको मौसम मंगलबार आंशिक बदली हुने जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण मौसम प्रभावित भएको हो ।

अहिले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा छ ।

मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका भूभागहरूमा आंशिक बदली हुनेछ । अरु क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका भूभागहरूमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।

देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन मौसमविदले अपिल गरेका छन् ।

यस्तै तराईका अधिकांश भूभाग तथा पहाडका केही भूभागमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेका छन् ।

यसैगरी बुधबा दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै राति बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । उच्च हिमली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहीबार देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने राति देशभर मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।