
काठमाडौं : जनता समाजवादी पार्टीले प्रतिनिधि सभा विघटनविरुद्ध भोलि गर्ने देशव्यापी प्रदर्शनका लागि तयारी थालेको छ । जसपाको बबरमहलस्थित केन्द्रीय कार्यालयमा आन्दोलन तयारी समितिको बैठकले त्यसका लागि तयारी थालेको हो ।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध खनिएको जसपाले भोलि पुस १० गते देशभर प्रदर्शन गर्दै प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने कार्यक्रम तय गरेको छ । यस्तै पुस ११ गते मशाल जुलुस प्रदर्शन र पुस १२ गते व्यापक जनप्रदर्शन गर्ने निर्णयस्वरुप तयारी थालिएको जसपाका नेता केशव झाले बताए ।
प्रधानमन्त्री र राष्ट्रपतिको प्रतिनिधि सभा विघटन गर्ने निर्णय प्रतिगमनकारी, स्वेच्छाचारी, निरंकु्श, असंवैधानिक र अलोकतान्त्रिक रहेको बताउँदै नेता झाले त्यसको विरोधस्वरुप तीन दिने देशव्यापी कार्यक्रम राखिएको बताए । आन्दोलनलाई भव्य रुपमा सम्पन्न गर्न तयारी थालिएको उनले बताए ।