प्रदेश १ मा तीन जना मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता

प्रदेश नम्बर १ मा थप एक मन्त्री र दुई जना राज्यमन्त्रीले पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेको भोलिपल्ट उनीहरुले राजीनामा दिएका हुन्।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले राजीनामा दिएका हुन्। यस्तै सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले पनि राजीनामा दिएका हुन्।

मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएकाे छ। प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर छ।

शनिबार मुख्यमन्त्री शेरधन राईले अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका थिए। आफूविरूद्ध अविश्वास प्रस्ताव ल्याउन हस्ताक्षर गरेको आरोपमा उनले मन्त्री आङ्बोलाई हटाएको बताएका थिए।