
काठमाडौं : नौ महिनादेदि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम खुलेको छ ।
कोरोना महामारीका कारण गत वर्षको चैतदेखि बन्द लाइसेन्सको अनलाइन फाराम सातवटै प्रदेशमा मंगलबारदेखि खुलेको यातायात व्यवस्था विभागका निर्देशक डाक्टर लोकनाथ भुसालले जानकारी दिए ।
कोरोना संक्रमणको त्रासका कारण बन्द फाराम जनजीवन सामान्यतर्फ फर्कन थालेसँगै खोलिएको उनको भनाइ छ । अझै पनि भाइरसको संक्रमण कायमै रहेको बताउँदै उनले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर लिखित तथा ट्रायल परीक्षा लिने व्यवस्थासहित फाराम खुला गरिएको बताए ।
उनका अनुसार लामो समयपछि फाराम खुलेकाले आवेदन दिनेको चाप भएकोले अनलाइन साइट नखुल्ने समस्या देखिएको छ । समस्या समाधानको प्रयास भइरहेको छ ।
अहिले मोटरसाइकलमा दैनिक एक सय, स्कुटर र चारपाङ्ग्रे गाडीमा ५०–५० गरी कुल दुई सय जनाले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरेको पनि गरिएको छ ।
काठमाडौं उपत्यकाका चारसहित देशभर विभागका १७ कार्यालयबाट अनुमतिपत्र वितरण, नवीकरण हुँदै आएको छ ।