भोलि प्रधानमन्त्री ओली धनगढी जाँदै, सुरक्षा व्यवस्था कडा

काठमाडौं : प्रधानमन्त्री ओली भोली धनगढी जाने भएका छन् । उनी त्यहाँ जाने भएपछि सुरक्षा व्यवस्थामा कडा परिएको छ ।

नेकपाको ओली समूहले पुष २४ गते धनगढीमा जनसभाको आयोजना गर्ने भएपछि धनगढीको सुरक्षा व्यवस्थामा कडा परिएको हो ।

प्रधानमन्त्री ओलीले नै प्रतिनिधि सभा भंग गराएपछि उत्पन्न राजनीतिक संकटपछि उनको आफ्नै समूहले आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न धनगढी जाने भएका हुन् ।

यसैबीच धनगढीको सुरक्षा व्यवस्थामा कडाइ पारिएको जनाइएको छ । हुन सक्ने सम्भावित जोखिम तथा त्रुटिलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको धनगढीको सुरक्षा व्यवस्थामा कडा पारेको छ ।

कार्यक्रमलाई लक्षित गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको संयोजकत्वमा बिहिबार जिल्ला सुरक्षा समितिको बैठक पनि बोलाइएको थियो । सुरक्षा समितिले सुरक्षाका जनपथ, सशस्त्र, नेपाली सेना, राष्ट्रिय अनुसन्धान गरी सबै सुरक्षा अंगलाई हाई अलर्टमा राखिएको प्रमुख जिल्ला अधिकारी बोहराले जनाएका छन् ।

जनसभा स्थल र प्रधानमन्त्री आवातजावत हुने सडकमा कालो झण्डा, कालो ब्यानर र कालो मास्क प्रतिबन्ध लगाइएको छ । प्रधानमन्त्री ओली प्रतिनिधि सभा विघटन गराएपछि नेकपा नै ओली र प्रचण्ड-माधव समूहमा विभाजित भएको छ ।