
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेकपा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । ललितपुरको धोबीघाटमा आयोजित एक कार्यक्रमका बीच उनले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका हुन् । एकीकरण अभियानका अध्यक्षसमेत रहेका गौतमले पार्टी पुनःएकीकरणको योजना दुई चरणमा गरिने पनि बताएका छन् ।
पहिलो चरण प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको फैसला आउनुअघि र दोस्रो चरणको कार्यक्रम सर्वोच्चको फैसला आएपछि सुरु हुने गौतमले तयार पारेको पार्टी एकीकरणसम्बन्धीको अवधारणापत्रमा उल्लेख छ । दुवै चरणमा पार्टी एकीकरणका विभिन्न विकल्पहरुमा छलफल हुने पनि बताइएको छ । प्रतिनिधि सभा पुनःस्थापना भएमा वा निर्वाचन भएमा दुवै अवस्थामा भिन्न–भिन्न केन्द्रअन्तर्गत पार्टी सञ्चालन र कार्यगत एकताको आधारमा निर्वाचनमा सामेल हुने, सरकार सञ्चालन गर्ने अवसर प्राप्त भएमा संयुक्त सरकार सञ्चालन गर्ने प्रक्रिया अवलम्बन गरिने पनि अवधारणापत्रमा उल्लेख छ ।
त्यस्तै दुई समूह एक नभई विभाजन भएमा दुवै पार्टीसँग मित्रवत् सम्बन्ध राख्ने पनि अवधारणापत्रमा उल्लेख गरिएको छ । उपाध्यक्ष गौतमले व्यवहारिक र राजनीतिक रुपमा नेकपा फुटिसकेको भए पनि कानुनी रुपमा अझै पार्टी नफुटेको पनि बताएका छन् । प्रतिनिधि सभा पुनःस्थापनापछि पनि पार्टी एकीकरण नभए निर्वाचन अवधि र त्यसपछि पनि निरन्तर प्रयास गरिने पनि अवधारणापत्रमा उल्लेख छ ।