मेलम्चीमा बिना मगरको कार्यकालमा सबैभन्दा धेरै प्रगति
बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काममध्ये पूर्वखानेपानी मन्त्री बिना मगरको कार्यकालमा सबैभन्दा बढी प्रगति भएको देखिएको छ । आयोजनाले विभिन्न समयमा जारी गरेका तथ्यांकहरुले पूर्वमन्त्री मगरको कार्यकालमा सबैभन्दा बढी काम भएको देखिएको हो ।इटालियन कम्पनी सिएसीले बिचमा काम छोडेपछि पूर्वमन्त्री मगरकै सक्रियतामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता भएको थियो । सम्झौतापछि सुरुङको गेटमा आएको प्राविधिक समस्याका कारण मगरकै कार्यकालमा मेलम्ची आयोजना सम्पन्न हुन भने सकेन । तर, मन्त्री मगरको कार्यकालमा मेलम्चीमा सबैभन्दा बढी प्रगति भएको छ ।
मेलम्ची खानेपानी विकास समितिले तयार गरेको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रगति प्रतिवेदनमा पूर्वमन्त्री मगरको कार्यकाल मेलम्चीको निर्माण प्रक्रियामा उल्लेखनीय भएको चर्चा गरिएको छ । विभिन्न उपशीर्षक समेटेर तयार पारिएको ६० पेज लामो प्रगति प्रतिवेदनमा आर्थिक वर्ष २०७५÷०७६ र २०७६÷०७७ मा सबैभन्दा बढी प्रगति भएको देखिएको छ । मगरको कार्यकालमा सुरुङ मार्ग निर्माण, सुरुङको ब्रेकथ्रुदेखि हेडवर्क्स, सेन्सरगेट, प्रशोधन केन्द्र लगायतका क्षेत्रमा निर्माण कार्यले तीव्रता लिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा मन्त्रालयको निरन्तर अनुगमन, निर्देशन र समस्या समाधानमा गरिएको सहजीकरण आयोजनाका लागि निकै फलदायी भएकोसमेत चर्चा गरिएको छ।के हो मेलम्ची आयोजना ?

मेलम्ची आयोजना विश्व बैंकको सहयोगमा काठमाडौंको खानेपानी व्यवस्थापनका लागि सन् १९७२ मा अध्ययन भएको हो । सन् १९९२ मा स्नो माउण्टेन इन्जिनियरिङ एण्ड कन्सल्ट्यान्टद्वारा सम्भाव्यता अध्ययन भई मेलम्ची नदी डाइभर्सन उत्तम विकल्पका रुपमा पहिचान भएको यस आयोजना कार्यान्वयनका लागि सन् १९९८ मा मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो । सन् १९९९–२००० मा आयोजनाको बिस्तृत डिजाइन प्रतिवेदन तयार भएको आयोजनमा विद्युत उत्पादन तथा रिबर्मा सुन्दरीजल प्रशारण लाइनसहितको प्रस्ताव राखिएको र आयोजनाको तत्कालीन लागत ४६४ मिलियन अमेरिकन डलर रहेको छ ।

बिज्ञापन

आयोजनामा दातृ निकायहरु बीचको तालमेल तथा शर्तहरुको कारण विद्युत तथा प्रशारण लाइन हटाइएको थियो। सन् २००१ मा एसियाली विकास बैंकद्वारा १२० मिलियन अमेरिकी डलर बरावरको लगानी गर्ने गरी ऋण स्वीकृत भएपछि मेलम्ची खानेपानी आयोजना सुरु भएको र कुल लागत अनुमान तत्कालीन अवस्थामा ४६४ मिलियन अमेरिकी डलर रहेको छ। सन् २००५ मा नोराड, सिडा र विश्व बैंकले ऋण लगानीको प्रतिवद्धता फिर्ता लिएको हुँदा लगानीको अभाव हुन गई आयोजना कार्यान्वयनमा समस्या हुन गएको थियो।

सन् २००८ सम्म आयोजनाका सहायक कार्यहरु जग्गा अधिग्रहण, पहुँच मार्गहरुको निर्माण, क्याम्प साइट निर्माण लगायतका कार्यहरु सम्पन्न भएको र सन् २००८ पछि मात्र आयोजनाको हेडवर्क्स एवं सुरुङ्ग निर्माणका कार्य सुरु भएको थियो। मेलम्ची आयोजना सन् २००५ मा एसियाली विकास बैंकको ऋण सम्झौताका शर्तहरु अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी महशुल निर्धारण आयोग तथा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड अध्यादेशमार्फत् खडा गरिएको आयोजना हो।

सन् २००७ मा एसियाली विकास बैंकको ऋण सम्झौताको अवधि समाप्त हुन गएको र सोही कारण पुनःसम्झौता हुन नसक्ने अवस्थामा आयोजनालाई सन् २००८ मा पुनर्संरचना गरी सन् २००८ मा आयोजनाको दायरामा केही परिवर्तन गरेर आयोजना पुनर्संरचना गरी दुई भागमा बिभाजन गरिएको छ। साथै, लागत अनुमान ३१७ मिलियन अमेरिकी डलर कायम हुन गएको छ। मेलम्ची खानेपानी आयोजना उप–आयोजना–१ को कुल लागत २४९ (संशोधित ३१२ मिलियन अमेरिकन डलर) तथा उप–आयोजना–२ को लागत ६८ मिलियन अमेरिकन डलर रहेको छ।

सन् २००८ बाट सुरुङ्ग निर्माण कार्यको खरिद प्रक्रिया सुरु गरी जनवरी २००९ मा चाइनिज निर्माण व्यवसायीसँग सम्झौता भई अप्रील २००९ बाट परिचालन गरिएको तत्कालीन समयमा आयोजना सम्पन्न गरिने म्याद सेप्टेम्बर २०१३ रहेको थियो। निर्माण व्यवसायीबाट ठेक्का सम्झौताको प्रावधानअनुसार (ठेक्का अनुसारको ७८.६५५ समय व्यतित हुँदासम्म जम्मा १५.३५५ मात्र भौतिक प्रगति गर्न सकेको) निर्माण कार्य गर्न सम्पन्न हुनसक्ने अवस्था नरहेकाले २५ सेप्टेम्वर २०१२ मा ठेक्का सम्झौता रद्द गरिएको थियो।

मेलम्चीको तत्काल बाँकी रहेको कार्यका लागि खरिद प्रक्रिया सुरु गरिएको र सन् २०१३ को जुलाई १५ मा निर्माण व्यवसायी सिएमसी डि रेभेनासँग सन् २०१६ को सेप्टेम्बर सम्ममा बाँकी कार्य सम्पन्न गर्ने गरी रु. ७ अर्ब ७२ करोड (भ्याट बाहेक) मा ठेक्का सम्झौता भएका थियो। तर, सिएमसी कम्पनि आर्थिक रुपमा टाट पल्टिएपछि सन् २०१८ डिसेम्बर २१ का कम्पनिले काम छोडेर भागेको थियो। त्यसपछि सिएमसीसँग मेलम्ची बोर्डले आयोजनाको धरौटी रकम जोगाउन ठेक्का सम्झौता तोड्ने निर्णय गर्‍यो।

मगरको कार्यकालमा के के भए आयोजनामा काम ?

चाइनिज निर्माण व्यवसायी चाइना रेलवेबाट ६ हजार ४१७ मिटर समेत गरी जम्मा २५ हजार ९२० मिटर सुरुङ्ग खन्ने तथा प्रारम्भिक सपोर्ट लगाउने कार्य गत चैत्र २७ गते ब्रेक–थ्रु भएको थियो । हेड वक्र्स् निर्माण क्षेत्रमा १ लाख घनमिटर ओपन कट तथा स्लोप स्टबिलाइजेशन गर्ने काम सम्पन्न भएको थियो। आयोजनाको सुरुङभित्र भुइँ ढलान गर्ने कार्य पूर्णतः सम्पन्न भएको थियो ।

आयोजनाको २५५१० मिटरमा फाइनल सर्पोट गर्ने काम सम्पन्न सकिएको थियो। हाइड्रो मेकानिकल उपकरण तथा विभिन्न प्रकारका गेटहरुको आयात तथा सबै गेटहरुको जडान कार्यसमेत सम्पन्न भएको थियो। मन्त्री मगरकै कार्यकालमा हेडवर्क्सको कामसमेत मूलभूत रुपमा सम्पन्न भएको थियो। मन्त्री मगरको कार्यकालमा नै आयोजनाको फिनिसिङका कामसमेत मूलभूत रुपमा सम्पन्न भएका थिए।

पूर्वमन्त्री मगरकै सक्रियतामा ६२ प्रतिशत प्रगति रहेको आयोजनाले ३० महिनाका अवधिमा ९७% प्रगति हासिल गरेको थियो। आयोजनाको निर्माण कार्य सम्पन्न भएर सुरुङभित्र पानी परीक्षण गर्ने क्रममा आकस्मिक दुर्घटना भएपछि मेलम्चीको काममा अवरोध पैदा भएको थियो। तर, त्यसको समाधानका लागि मगरले अनवरत प्रयास गरेर आयोजनाको उद्घाटनको समेत वातावरण बनिरहेको बेला प्रतिनिधि सभा बिघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति असहमति जनाउँदै मगरले राजीनामा दिएपछि आयोजनामा फेरि सुस्तता देखिएको छ।

कुन मन्त्रीको काम कति ?

मेलम्ची आयोजनाको परिकल्पना गरेको ४६ वर्ष पुगेको छ। यसको सम्भाव्यता अध्ययन भएको २६ वर्ष पुगेको छ। मेलम्ची खानेपानी आयोजना विकास समिति गठन भएको २० वर्ष पुगेको छ। त्यसयता मेलम्ची विकास समितिले आयोजनाको काम निरन्तर अगाडि बढाइरहेको थियो। तर, मन्त्री फेरिएपछि आयोजनाको कामले गति लिन सकिरहेको छैन। मेलम्ची आयोजना सुरु भएपछि डेढ दर्जनभन्दा बढी नेता खानेपानी मन्त्री बने। उनीहरुको मूख्य प्राथमिकता नै मेलम्ची आयोजना थियो। तर, मन्त्री बिना मगरभन्दा पूर्वका डेढ दर्जन मन्त्रीहरुको कुल कार्यकालमा मेलम्ची आयोजनाको काम ७४ प्रतिशत मात्र सम्पन्न भयो। खानेपानी मन्त्रीमा बिना मगर आएपछि आयोजनाको कामले गति लियो। हाल मेलम्चीको प्रगति ९७ प्रतिशत रहेको छ।

 

२६ वर्षको अवधिमा प्रेमसिंह धामीदेखि बिना मगरसम्म २२ जना मन्त्री भए। २२ जना मन्त्रीले २६ वर्षमा ७४ प्रतिशत काम गर्दा त्यसबारे खासै चर्चा भएन। तर, बिना मगरले २१ महिनामा २३ प्रतिशत काम गर्दा पनि उनको आलोचना भइरह्यो। मन्त्री मगरले यस अवधिमा खानेपानी ऐन, ढल नीति, ठूला आयोजनाहरुको अध्ययनको काम मात्र अघि बढाएकी छैनन्, करीब ६०० ठूला र मझौला आयोजना पनि उनको २१ महिने कार्यकालभित्र सम्पन्न भएका छन्। आफ्नो कार्यकालमा मन्त्री मगरले मेलम्ची आयोजनालाई नै मुख्य जिम्मेवारीका रुपमा लिँदै छिटोभन्दा छिटो आयोजनाको काम सम्पन्न गर्न अग्रसरता देखाएकी थिइन्। तर, एकातिर राष्ट्रिय राजनीतिमा आएको फेरबदल र अर्कोतिर आयोजनामा भएको आकस्मिक दुर्घटनाका कारण निर्माण कार्य सम्पन्न भएर पनि आयोजनाको उद्घाटन गर्ने अवसर पूर्वमन्त्री मगरलाई जुटेन ।