तल्लो अरुण निर्माण गर्न भारतीय कम्पनीलाई दिने सरकारको निर्णय

सरकारले तल्लो अरुण जलविद्युत् परियोजना निर्माण गर्न भारतीय कम्पनी एसजेभीएन लिमिटेडलाई दिने निर्णय गरेको छ । सार्वजनिक–निजी साझेदारी अन्तर्गत विकास गर्न उक्त भारतीय कम्पनीलाई छनौट गरिएको लगानी बोर्डले जनाएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बोर्डको ४६ औं बैठकले यस्तो निर्णय गरेको हो । ‘अन्तर्राष्ट्रिय प्रतिश्पर्धाका आधारमा सूचिकृत भएका कम्पनीहरुको मूल्याङ्कन गरी सो निर्णय भएको’ बोर्डले जनाएको छ ।

कुल क्षमता ६७९ मेगावाट रहेको उक्त परियोजना प्रदेश १ को संखुवासभा र भोजपुर जिल्लामा अवस्थित रहने छ । २०७५ चैतमा काठमाडौंमा भएको लगानी सम्मेलनमा सरकारले उक्त परियोजना लगानीकर्ता समक्ष प्रस्तुत गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बोर्ड बैठक बसेको थियो। बैठकमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेललगायत सहभागी थिए।