पहिलो चरणको अभियानमा लक्ष्य भन्दा आधाले मात्रै लगाए कोरोना खोप

सरकारले सञ्चालन गरेको पहिलो चरणको खोप अभियानमा लक्ष्यभन्दा आधाले खोप लगाएका छन् । पहिलो चरणको अभियानमा ४ लाख ३० हजारलाई कोभिड-१९ विरुद्धको खोप लगाउने सरकारी तयारी थियो । तर शुक्रवारसम्ममा १ लाख ७१ हजारले मात्र खोप लगाएपछि मन्त्रालयले पहिलो चरणको अभियानमा एक दिन थपेको थियो ।

खोप अभियानको अन्तिम दिन शनिवार साँझसम्ममा १ लाख ८४ हजार ८ सय ५७ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा २४ हजार २ सय २४, प्रदेश २ मा २५ हजार ६ सय ३७, बाग्मतीमा ६३ हजार ३ सय ८, गण्डकीमा १८ हजार ४ सय ७२, लुम्बिनीमा २८ हजार ९ सय ४१, कर्णालीमा ९ हजार ४ सय २० र सुदूरपश्चिममा १४ हजार ८ सय ५५ व्यक्तिले खोप लगाएका छन् ।

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोप फ्रन्टलाइनमा खटिनेलाई १० दिनभित्र लगाइसक्ने गरी सरकारले योजना अनुरुप लगाउन सुरु गरेको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, कैदीबन्दी र वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइएको हो ।