पर्यटन विकासका लागि हातेमालोसहित सहकार्य

पोखरा : सुदूरपश्चिमको पर्यटन विकासका लागि पोखराका पर्यटन व्यवसायीले हातेमालो गरेर साथ दिने बताएका छन् । सुदूरपश्चिम नेपाल एशोसिएसन टुर एण्ड ट्राभल्स (नाट्टा)को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्धनमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यसहित अन्तर प्रादेशिक समन्वयात्मक भ्रमणमा लागि पोखरा आइपुगेका व्यवसायीको टोलीसँगको अन्तक्रियात्ममा यहाँका पर्यटन व्यवसायीले पर्यटन विकासमा सहकार्य गरेर अघि बढ्ने बताएका हुन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वय एकाइका प्रमुख भोजराज पाठकले गण्डकी प्रदेश र अझ पोखरा पर्यटन क्षेत्रका लागि ‘आइडल’ भएकाले यस क्षेत्रबाट धेरै कुरा सिक्ने सकिने बताए । उनले कोभिड– १९ ले सुस्ताएको पर्यटनका लागि एक प्रदेशदेखि अर्को प्रदेशको भ्रमण गरेर आन्तरिक पर्यटनमार्फत चलायमान गराउन सकिने बताए ।

बिज्ञापन

आन्तरिक पर्यटन पुनःरुत्थान समितिका संयोजक अग्नि कँडेलले कोभिड पछाडिको अवस्थालाई गति दिन आन्तरिक पर्यटकलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्नुपर्ने बताए । उनले सुदूरपश्चिम सांस्कृतिक, प्राकृृतिक, राजनीतिकरुपले अगाडि भए पनि आर्थिक समृद्धि हासिल गर्न नसकेको उल्लेख गर्दै प्रचारप्रसारमा जोड दिएर पर्यटकीय गतिविधि बढाउनुपर्ने बताए । आकर्षक गन्तव्य प्याकेजमार्फत ल्याउन सके आगामी दिन आन्तरिक पर्यटकको गन्तव्यमा सुदूरपश्चिम हुनसक्ने उनको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटनका लागि समसामियक विषयमा देखिएका समस्याको कारण खोजेर समाधानमा जुट्नुपर्ने बताए । उनले परम्परागत सोच र अवस्थाबाट अबको पर्यटनले गति लिन नसक्ने उल्लेख गर्दै नवीनतमा सोच र प्रविधिको विकाससँग अगाडि बढ्नुपर्ने धारणा राखे । सरकारका नीति पर्यटनमैत्री बनाएर पर्यटकका लागि सहज वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल कोभिड–१९ का कारण धेरैले प्राकृतिक र शान्तस्थलको खोजीमा धेरै पर्यटक रहेको उल्लेख गर्दै सुदूरपश्चिम, गण्डकी प्रदेशमा त्यस्ता ठाउँ भएकाले प्याकेज बनाएर ल्याउन सके आगामी दिनमा पर्यटननको विकास हुने बताए । नेपाल पर्यटन बार्ड गण्डकी प्रदेशका प्रबन्धक विमल कँडेलले कोभिड–१९ को चुनौतीलाई अवसरमा बदलेर लुकेर रहेका गन्तव्यको खोजीसहित यसको प्रवर्धन जोड दिन सके दीर्घकालीनरुपमा पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।