धादिङमा तीन वटा बस ठक्कर खाँदा १३ घाइते

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा नम्बर–७ स्थित खेस्टे खोलामा तीन वटा यात्रुबाहक बस ठक्कर खाँदा १३ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक छ ।

धादिङ बेशीबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८९०४ नम्बरको बसलाई सुर्खेतबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४४९१ नम्बरको बसले उछिन्ने क्रममा काठमाडौंबाट गोर्खा जाँदै गरेको ना ५ ख ५०७० नम्बरको यात्रुबाहक बससँग ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनाबाट घाइते भएका यात्रुहरूको स्थानीय स्वास्थ्य सेवा गल्छीमा उपचार भइरहेको र दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । उनीहरुलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ ।

दुर्घटनापछि केही बेर राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरी र स्थानीय बासीको सहयोगमा स्थानीय वर्कसपबाट क्रेन झिकाएर सवारी आवागमन सुचारु गराइएको गजुरी प्रहरीले जानकारी दिएको छ ।