नेपाल-खनाल समूहले पत्रकार सम्मेलन गर्दै

काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको छ। चैत ४ र ५ गते काठमाडौंमा गरिने कार्यकर्ता भेलाबारे आज दिउँसो पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने केन्द्रीय प्रचार विभागले बताएको छ।

केन्द्रीय प्रचार विभाग प्रमुख तथा युवा नेता योगेश भट्टराईका अनुसार आज दिउँसो २ बजे होटल हेरिटेज गार्डेन सानेपा चोक ललितपुरमा पत्रकार सम्मेलनबाट राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिने कार्यक्रम छ। यो कार्यकर्ता भेला रोक्न प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्माले आग्रह गरेका थिए। सोमबार नेता नेपालसहित धुम्बाराहीमा आयोजित छलफलमा ओलीले कार्यकर्ता भेला नगर्न भनेका थिए।

तर नेता नेपाल-खनाल पक्षले कार्यकर्ता भेला नरोक्ने बताएको छ। साथै प्रधानमन्त्री ओलीले आज बालुवाटारमा केन्द्रीय सदस्यका लागि गर्न लागेको चियापान समारोहमा नेता नेपाल खनाल पक्षका नेताहरू नजाने भएका छन्।