कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना, टिचिङका ३८ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत ३८ चिकित्सक तथा स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ ।

 

बिज्ञापन

त्रिविमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि उनको उपचारमा संलग्न चिकित्सक, नर्सलगायत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

 

अस्पतालका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासका अनुसार न्यूरो वार्डमा रहेका ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ ।

 

साथै, उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको छ । उनीहरू सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

 

अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो । उनलाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो ।

 

बिहीबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ वर्षीया बालिकासहित काठमाडौंको चन्द्रगिरी नगरपालिकाका ३२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको जानकारी दिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २४५ पुगेको छ भने संक्रमणमुक्त भएर घर फर्किनेको संख्या ४५ रहेको छ ।