
नेपालगन्ज : लुम्बिनी प्रदेशमा सोमबार अपराह्नयता कोरोनाले थप २२ जनाको मृत्यु भएको छ । बाँकेका भेरी अस्पताल र कोहलपुर मेडिकल कलेज तथा बुटलवको कोरोना अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो । बाँकेमा सोमबार अपराह्नदेखि मंगलबार बिहान साढे ५ बजेसम्ममा १२ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर वलीले बताए । तिनमा ६ जना बर्दिया, पाँच जना बाँके, एक जना रुकुमपूर्वका छन् ।
नेपालगन्ज उपमहानगरपालिका–१० का ६८ वर्षीय पुरुष, बर्दियाको बासगढी नगरपालिका–९ का ७३ वर्षीय पुरुष, बर्दियाको गुलरिया नगरपालिका–६ का २१ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । भेरीमै रुकुमपूर्वको सिस्ने गाउँपालिका–३ का ५३ वर्षीय पुरुष, बर्दियाको बारबर्दियाकी ६३ वर्षीया महिला, खजुरा गाउँपालिका–३ का ५२ वर्षीय पुरुष, जानकी गाउँपालिका–४ की ४५ वर्षीया महिला, बर्दियाको बढैयाताल–३ की ७८ वर्षीया महिला र बढैयाताल गाउँपालिका–१ का ८५ वर्षीय पुरुषको मृत्यु भएको छ । खजुरा गाउँपालिका–२ का ८८ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । वैशाख २६ गते एन्टिजेन जाँच गरिएका उनको राति ११ः१० बजे मृत्यु भएको हो । त्यस्तै बर्दियाको बाँसगढी नगरपालिका–५ का ६० वर्षीय पुरुष र कोहलपुर नगरपालिका–८ का ६२ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।
त्यसै गरी रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ जना पुरष र २ महिला छन् । अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमका अनुसार रुपन्देहीकी ५१ वर्षीया महिलाको मंगलबार बिहान ९ बजे, प्युठानको गौमुखी ७ का ५० वर्षीय पुरुषको बिहान ४ बजे, कपिलवस्तुको बुद्धभूमि–१ का ४० वर्षीय पुरुषको सोमबार राति साढे १२ बजे, रुपन्देहीको बुटवल ११ का ३६ वर्षीय पुरुषको राति १२ बजेर ४५ मिनेटमा, ४२ वर्षीय पुरुषको ९ बजे, कञ्चन गाउँपालिका–४ की ३६ वर्षीया महिलाको बिहान २ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।
त्यस्तै बुटवल १७ का ७८ वर्षीय पुरुषको सोमबार बेलुकी ७ बजे, बुटवल–१२ का ६३ वर्षीय पुरुषको बेलुकी ९ बजे, रूपन्देहीको सैनामैना–३ का ४२ वर्षीय पुरुषको बेलुकी ८ बजे, कपिलवस्तुको चन्द्रौटा–७ का ३३ वर्षीय पुरुषको राति ११ बजे मृत्यु भएको उनले जानकारी दिए । उनीहरूमध्ये केही आईसीयू र केहीको आकस्मिक कक्षमा उपचार हुँदै थियो । अहिले अस्पतालमा अक्सिजन अभाव भएकाले तत्काल जोहो गर्न नसकिए थप बिरामीको ज्यान जाने जोखिम रहेको गौतमले बताए ।