
झापाको गौरादह ३ निवासी नर बहादुर खड्का बिहान ४ बज्दा उठि सकेका हुन्छन् । मोर्टरसाइकल स्टार्ट गर्छन् र आफ्नो सपनाको केन्द्र कुशल च्याउ उद्योग तर्फ हानिन्छ्न् । करिब ५ वर्ष अगाडी उनले उक्त उद्योग स्थापना गरि व्यवसायिक सुरुवात गरेका हुन् ।




गौरादहको वार्ड नं. ३ र ४ का विभिन्न स्थानमा उनले च्याउ उत्पादनको केन्द्रहरू निर्माण गरेका छन् । अत्यावश्यक अवस्थामा उनि प्राबिधिक र दक्ष जनशक्ति हायर गर्छन् भने अन्य समयमा श्रीमती सीता र छोरा प्रवेशको साथ रहेको हुन्छ । प्रवेश कक्षा १० मा पढ्दै छन् भने पढाईका अतिरिक्त आफ्नो आमा-बुबाको व्यवसायमा उतिकै इमानदारिताका साथ सहयोग गरेका भेटिन्छन्। कुशल च्याउको उत्पादन गौरादह क्षेत्रमा मात्र खपत हुदैन, यहाँको उत्पादनले झापा र मोरङमा समेत पुग्ने गरेको छ ।

हिजो आज लकडाउनको समयमा पनि उनी उत्तिकै व्यस्त छन् । च्याउको उत्पादन घटेको छैन तर बजार सांगुरो भएको छ । थोक पसलेले उत्पादित च्याउ उठाउन चाहदैनन् , आज टिपेको च्याउ आजै खपत गरि सक्नुपर्छ ।
‘साथीभाइ धेरै हुँदा अप्ठ्यारो अवस्थामा पनि सहयोग हुदोरहेछ, बजारमा नबिक्ने च्याउ गाउँघरमा राम्रै खपत भएको छ’, उनी सन्तुष्टि व्यक्त गर्दै सुनाउछन् ।
आफ्नो १६० सि. सी. को पल्सर बाइकमा पछाडी एक जोर डोको बाधेर गाउँ गाउँ पुग्दै च्याउको बिक्रीवितरण गर्दै हिड्ने जागरुक कृषक खड्का लक डाउनको समयमा पनि आफ्नो व्यवसायमा उतिकै रमाएका छन् ।
गाउँ घरमै पुगेर लकडाउन झेल्न बाध्य स्थानीयलाई आफ्नै हातले उत्पादन गरेको च्याउ पुर्याउन पाउदा खड्का निकै दंग देखिन्छन् भने च्याउ पारखीहरु ढोका सम्म बिहानै आइपुगेको ताजा च्याउ देखेर हर्षित नहुने कुरै भएन । लकडाउनको संबेदनसिल समयमा घर घरमा पुगेर च्याउको बिक्रि बितरण गर्नु सहज त हुँदै होइन । यद्यपि सुरक्षित तवरले प्याकेजिङ गरिएको च्याउ लिएर गाउँ घरमै पुग्दा असहज भने महसुस हुदैन,। बस्ती बस्तिमा पुगेर आफ्नो उद्योगमा उत्पादित फसलको बिक्रीवितरण गर्दा व्यक्तिगत सुरक्षामा भनें राम्रै ध्यान दिने गरेको उनि बताउछन् ।
लामो समय वैदेशिक रोजगारीमा बसेर गाउँ फर्किएका खड्का निकै हिम्मतिलो स्वाभावका मानिन्छन् । कुनै पनि व्यवसायमा फाइदा भन्दा बढी जोखिम उत्तिकै हुने तर्क गर्छन् । मलेसियामा रहदा उनले निकै सुबिधा सम्पन्न रेस्टुरेन्ट समेत खोलेका थिए । रेस्टुरेन्टका अतिरिक्त साग सब्जी समेत आफैंले उत्पादन गर्ने गरेको उनी स्मरण गर्छन् । मलेसियाको रेस्टुरेन्ट व्यवसाय उनले निकै दुख गरेर स्थापना गरेका थिए । अचानक दायाँ खुट्टामा समस्या देखियो । बिदेशी भुमीमा लाखौं खर्च गर्नु पर्यो । लामो समय आराम गर्नुपर्ने चिकित्सकको सल्लाहलाई उनले इन्कार गर्न सकेनन् ।
अन्ततः खड्का अधुरो सपना बिदेशी भुमीमै छोडेर परिवार सहित खाली हात जन्म भुमि फर्किए । जीवनको निकै लामो आरोह अवरोह झेल्न बाध्य भएका खड्काले हिम्मत कहिल्यै हारेनन् । श्रीमती सिता खड्काको अटल विश्वास र साथ उनी संग छ । ‘एउटी महिलाले घरायसी काममा अल्झिएर मात्र हुदैन, प्रत्येक पाइलामा सफलताको अठोट हुनुपर्छ’ भन्ने हिम्मतिलो र सकारात्मक सोच भएकी एक अब्बल महिला हुन् श्रीमती सीता खड्का । कृषि क्षेत्रमा जिविकोपार्जन गर्ने मात्र नभएर सफलताको निकै उच्च शिखर उक्लन सकिने खड्का दम्पतीले सपना देखेका छन् ।
सधैं भरी हसिलो अनुहार र फर्स्याइलो स्वाभावमा देखिने मेहनती कृषक नरबहादुर खड्का भन्छन्, ‘ हाम्रो सुन्दर देश नेपालमा अनाज छरेर मोती फलाउन सकिन्छ, तर हरेक काममा निरन्तरता अनिवार्य रहन्छ।’
खड्का दम्पती जस्ता कर्मठ र उर्जाशिल कृषकलाई राज्यले उचित सहयोग र सम्मान गरेर मुलुकलाई समृद्ध बनाउने यात्रामा अगाडि बढ्न सकोस् ।
ओमकार टाइम्स मिडियाको तर्फ बाट समेत उर्जावान कृषकहरुलाइ व्यवसायिक सफलताको हार्दिक शुभकामना