निर्धारित मितिमै चुनाव गराउन निर्वाचन आयोगलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तोकेको निर्धारित मितिमा मध्यावधि चुनाव सम्पन्न गर्न निर्वाचन आयोगलाई दिर्नेशन दिएका छन् ।
शनिबार बालुवाटारमा आयोगका पदाधिकारीहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले चुनाव सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको, त्यसका लागि आवश्यक स्रोतधान जुटाउन र सुरक्षाको व्यवस्था गर्न तयार भएकाले आयोगलाई गम्भीरतापूर्वक चुनावमा लाग्न निर्देशन दिए ।

प्रधानमन्त्री ओलीको निर्देशनपछि आयोगका पदाधिकारीहरुले सरकारद्वारा निर्धारित मितिमा चुनाव गराउन आफूहरु पनि प्रतिवद्ध रहेको बताएका थिए ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भने,‘हामीलाई प्रधानमन्त्रीज्यूले निर्वाचनका सम्बन्धमा छलफल गर्न बोलाउनु भएको थियो । निर्वाचनका लागि कुनै स्रोतधानको कमी नहुने भएकाले महामारीलाई समेत ध्यानमा राखेर चुनावका लागि आवश्यक प्रक्रिया अघि बढाउनुहोस् भन्नुभएको छ ।’

थपलियाका अनुसार दुई चरणमा चुनाव गर्ने भएकाले पहिलो र दोस्रो चरणमा कुन कुन ठाउँमा चुनाव गर्दा उपयुक्त हुन्छ त्यसबारे पनि छलफल भएको छ । उनले भने,‘चुनावका लागि विद्यमान चुनौति, जटिलताबारे पनि छलफल भयो । ऐन काननुमा पनि छलफल भयो ।’

त्यसक्रममा सम्भव भए एकै चरणमा चुनाव गराउनु उपयुक्त हुनेमा आयोगका पदाधिकरीले सुझाव दिएका थिए । उनले भने,‘प्रधानमन्त्रीलाई निर्वाचन आयोगको काम नै निर्वाचन गर्ने भएकाले प्रचलित कानुन बमोजिम हामीले सरकारले तोकेको मितिमा निर्वाचन गराउन सक्छौँ भनेका छौँ । यसका निम्ति सरकारका तर्फबाट उपयुक्त राजनीतिक वातावरण तयार गर्ने, स्रोतसाधन र सुरक्षाको प्रवन्ध गर्ने र कानुनी जटिलतालाई सहज बनाउने काममा भूमिका खेल्न आग्रह गरेका छौँ । साथै कोरोनाकाबीच हुने भएकाले निर्वाचन मँहगो पनि हुन सक्छ भन्नेमा जोड दिएका छौँ ।’