
काठमाडौं : प्रतिनिधि सभा विघटनविरूद्ध परेको रिट निवेदनको आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। शुक्रबार पहिलो सुनुवाइ भएका रिट निवेदकहरुको बहस नसकिएपछि आज पुनः सुनुवाइ हुन लागेको हो। प्रतिनिधि सभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन्। संवैधानिक इजलासले एउटा रिटमा १० मिनेटमात्रै बहस गर्न समय दिएको छ।
शुक्रबारको सुनुवाइका क्रममा संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठको सहभागिताबारे वकिलले प्रश्न उठाएका थिए । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदको तर्फबाट बहस गर्नेक्रममा वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश श्रेष्ठको निष्पक्ष भूमिकामाथि प्रश्न उठाएका थिए ।
नेकपाको आधिकारिकता विवादमा श्रेष्ठले फैसला गरेका थिए । श्रेष्ठसम्मिलित इजलासले गरेको फैसलापछि नेकपा विभाजित भइ नेकपा एमाले र नेकपा माओवादी केन्द्र अस्तित्वमा आएको थियो । बन्दीले श्रेष्ठको प्रतिनिघित्वमा प्रश्न उठाएपछि आपत्ति जनाएका महान्यायाधिवक्ता रमेश बडालसँग चर्काचर्की नै परेको थियो ।