नाकामा भारत जानेको भीड

नेपाली कामदारहरू कोरोना कहरकैबीच पुनः कामको खोजीमा भारततिर जान थालेका छन् ।

घरमा बस्दा आर्थिक समस्या भएपछि खर्च जोहो गर्नका लागि महामारीकै बीच पुनः भारततिर जान थालेका हुन् । उता, केही न केही काम पाइहाल्ने आशामा कैलालीको गौरीफन्टा नाका र कञ्चनपुरको गड्डाचौकी नाका भएर भारत जानेको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमण सुरु भएपछि त्यहाँ रहेका नेपाली कामदार ज्यान जोगाउन स्वदेश फर्केका थिए ।

स्वदेश फर्केका कामदारसँगै नयाँ भेरियन्टसहितको कोरोना पनि भित्रिएको थियो । अहिले पनि नेपाल-भारत दुवै देशमा कोरोना महामारीको जोखिम उच्च नै छ । तापनि, आर्थिक समस्या आइपरेपछि बाध्य भएर कामको खोजीमा पुनः भारततिर जान थालेको कामदारहरू बताउँछन् । गोदावरी नगरपालिका ७ का चन्द्रबहादुर विष्टले आर्थिक समस्याका कारण कोरोना जोखिमकै बीच कामको खोजीमा भारत जान लागेको बताए । “लागेको ऋण तिर्न र बालबच्चा पाल्न घरमा बसेर सकिन्न”, उनले भने “बाध्यताले कोरोना जोखिमकै बीच कामको खोजीमा जाँदैछु ।” भारतका कैयौँ सहरमा धमाधम लकडाउन भएपछि कतिपय नेपाली बेरोजगार भएर त कतिपय कोरोनाको त्रासले नेपाल फर्किएका थिए ।

फर्किएको केही समयपछि फेरि उतै जान थालेका छन् । पहिलो लहरको कोरोना सङ्क्रमणका बेला पनि भारतबाट फर्केका नेपाली कामदार महामारीकै बीच कामका खोजीमा भारततिरै गएका थिए । आफ्नो मुलुकमा रोजगारी नपाएकाले आफूजस्ता निम्न वर्गका धेरै व्यक्ति रोग, भोकसमेत नमानेर भारत जान बाध्य भइरहेको कञ्चनपुरका हरि जोशीले बताए ।

दोस्रो लहरको कोरोना सङ्क्रमण चैतदेखि बढेको थियो । चैतदेखि हालसम्म गौरीफन्टा नाका भएरमात्रै १८ हजार ७७२ जना भारततिर गइसकेको त्रिनगर हेल्प डेस्कले जानकारी दिएको छ ।