हेटौंडा : गत ४ माघमा हेटौंडाको क्याम्पाडाँडामा मृत फेला परेकी अजिता भुजेलको हत्यामा संलग्नहरु पत्ता लागेका छन् । घटनामा संलग्न पाँच जनालाइ जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ परेका अभियु्क्तहरुले आफूहरुले हत्या गरेको स्वीकार गरिसकेका छन् । उनीहरुले सहमतिमा पालैपालो यौन सम्पर्क गरेको र पछि पैसा दिने क्रममा कुरा नमिल्दा विवाद भएको र अजिताको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।
पक्राउ पर्नेमा हेटौंडा–९ बस्ने वर्ष १८ का सिमोन परियार, हेटौंडा–४ बस्ने वर्ष २४ का आशिष बल, हेटौंडा–१४ बस्ने वर्ष २१ का बुद्ध लामा, हेटौंडा–४ बस्ने वर्ष २५ का सुशील थापा मगर र हेटौंडा–११ कि २० वर्षीया एलिसा पाख्रिन रहेका छन् ।
उनीहरुले ती महिलासँग ७ हजार रुपैयाँ दिने सहमतिमा यौन सम्पर्क राखेको र यौन सम्पर्कपछि पैसा दिने कुरामा विवाद भएपछि हत्या गरेको वयान दिएका छन् ।
उनीहरुले ना ६ ख ६५२७ नम्बरको ट्रकको क्याबिनमा ती महिलासँग यौन सम्पर्क गरेका थिए । पैसामा कुरा नमिलेपछि ट्रकभित्रै चारै जना मिलेर घाँटीमा बत्तीको तारले बेरेर हत्या गरिएको र हत्या गरेर क्याम्पाडाँडामा लगेर फालेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले अजिताले बोक्ने मोबाइलको माध्यमबाट अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो । बुद्ध लामाले अजिताको हत्यापछि आशिषलाई मोबाइल दिएका थिए । त्यसपछि आशिषले आफ्नी पत्नी एलिसा पाख्रिनलाई अजिताको हराएको मोबाइल दिए । उक्त मोबाइल ‘अन’ भएपछि प्रहरीले अजिताको हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।