पोखरेलले उपप्रधानमन्त्री हुँदा साढे ४ लाख कोरोना कोषमा र ६ बढी पार्टीको काेषमा जम्मा गरे

सत्तारूढ नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीभित्रको एकतामा सङ्कट देखापरेकाले यसबाट जोगाउन आह्वान गरेका छन् । उपप्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिएपछि आफू पार्टीको काममा चुनौतीको सामना गर्न थप सक्रिय हुने जनाउँदै उनले राष्ट्रिय राजनीतिमा अस्थिरताका आशङ्काले मानिसमा त्रास उत्पन्न भई आर्थिक विकास र समृद्धि अभियान तथा राष्ट्रिय स्वाभिमान एवं स्वतन्त्रताको विषयलाई कमजोर बनाउने दुष्प्रयत्न भएकाले यसलाई परास्त गर्न आग्रह गरे ।

“मुलुकलाई अराजकता र अस्तव्यस्ततातर्फ धकेल्ने, सामाजिक सद्भावलाई बिथोल्ने आदि दुष्प्रयत्न हुँदैछन् र ती प्रवृत्तिलाई प्रश्रय दिन भित्र/बाहिरबाट प्रयत्न भइरहेको कुरालाई बुझ्न सकिन्छ”, महासचिव पोखरेलले आज जारी गरेको अपिलमा भनिएको छ, “यस्तो बेलामा सिङ्गो राष्ट्रले आम नेपाली जनताप्रति सुदृढ र जनआधारित एमालेप्रति आशा गरेको कुरालाई बुझ्न सकिन्छ, यो आवश्यकतालाई पूरा गर्ने चुनौतीपूर्ण उद्देश्यद्वारा निर्देशित हुनुपर्ने छ, यसका लागि पार्टीका सबै नेता, कार्यकर्ता, समर्थकलाई  गोलबद्ध हुन अनुरोध गर्दछु ।

” नेता पोखरेल २०७४ साल फागुन १४ गतेदेखि २०७७ असोज २८ गतेसम्म रक्षामन्त्री र त्यसपछि २०७८ साल जेठ २१ गतेसम्म  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने जिम्मेवारीमा रहेका थिए । उक्त अवधिलाई आफूले राजनीतिक र सामाजिक जीवनको महत्वपूर्ण समयावधिका रूपमा लिएको उल्लेख गर्दै उहाँले जिम्मेवारी पूरा गर्न प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीले मार्गदर्शन गरेकाे स्मरण गरे । महासचिव पोखरेलले यसबीच सरकारमा रहेका बेला आफूबाट भएका सबै काम सम्बन्धित ठाउँमा औपचारिक अभिलेखीकरण भएको र तिनले आजमात्र नभएर आवश्यक पर्दा पछिपछिसम्म पनि सबैलाई यथार्थ बताइरहने विश्वास व्यक्त गरे ।

उनले कोभिड–१९ सङ्क्रमणको महामारीका समयमा उच्चस्तरीय समन्वय समिति र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा संयोजकका हिसाबले भूमिका खेलेकाे थियो । उनले कोभिड सङ्क्रमितको उपचारका लागि सरकारको निर्णयअनुसार सात महिनाको पारिश्रमिक चार लाख ५६ हजार ४०० कोभिड कोषमा बुझाएको र  राज्यलाई बुझाउनुपर्ने सुविधा तथा सबै किसिमका दायित्व पूरा गरेको जानकारी दिँदै  उक्त अवधिमा पार्टीको कोषमा छ लाख पाँच हजार जम्मा गराइएको अवगत गराउनुभयो । यसअघि निवर्तमान परराष्ट्रमन्त्री तथा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले मन्त्री हुँदाको अवधिको सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको थियो ।