खाल्सा एड ईन्टरनेश्नलले ‘कन्ट्रिव्युसन फर नेपाल’ सँगको सहकार्यमा भक्तपुर अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

खाल्सा एड इन्टरनेश्नलले भक्तपुरस्थित् भक्तपुर अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ ।  हिजो एक कार्यक्रमका बीच खाल्सा एड इन्टरनेश्नल र ‘कन्ट्रिव्युसन फर नेपाल’ का प्रतिनिधिहरुले अस्पताललाई उक्त स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् । बेलायतमा रहेको खाल्सा एड ईन्टरनेश्नलले नेपाललाई कोभिड राहतअन्तर्गत एक सय ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो । सोहीअनुसार आज भक्तपुर अस्पताललाई पाँच थान कन्सन्ट्रेटर प्रदान गरिएको ‘कन्ट्रिव्युसन फर नेपाल’ का अध्यक्ष अशोक धमलाले जानकारी दिए ।

धमलाले आवश्यक परेमा देशैभरिका विभिन्न अस्पतालहरुलाई स्वास्थ्य–सामाग्रीहरु उपलब्ध गराउन सकिने विश्वास दिलाए । उनले आवश्यक परेकाहरुलाई आफूहरुलाई सम्पर्क गर्नपनि भनेका छन् । अध्यक्ष धमलाले खाल्सा एड ईन्टरनेश्नलको तर्फबाट कोभिड महामारीको बेलामा अत्यावश्यक रहेको अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे ।उनले भने,‘खाल्साले विशेषगरि डिजास्टर रिलिफसम्बन्धी काम गर्दै आएको छ ।’ धमलाले संस्थाका संस्थापक रवी सिंहलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तो खालको सहयोग पाउने अपेक्षा लिए ।

खाल्साले नेपाललाई भुकम्पलगायत प्राकृतिक विपत्तिका बेला धेरैपटक सहयोग गरेको पनि धमलाले स्मरण गराए ।  कार्यक्रममा खाल्सा एडका नेपाल प्रतिनिधि देवेन्द्र सिंह र ‘कन्ट्रिव्युसन फर नेपाल’ का सचिव रामप्रसाद बञ्जाराले पनि कोरोना महामारीको बेलामा अक्सिजनको सहयोग पाउनु खुशीको कुरा भएको प्रतिक्रिया दिए ।उनीहरुले प्राप्त अक्सिजन कन्सन्ट्रेटरले अक्सिजन अभावलाई थोरै भएपनि परिपुर्ति गर्न सहयोग पुगेको धारणा राखेका छन् ।