
काठमाडौं : प्रधानमन्त्री एंव नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरूलाई सहभागी गराउने गरी स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन्।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार खनाल/नेपाल समूहका नेताहरू पनि सहभागी हुने गरी स्थायी कमिटी बैठक बोलाउन पछिल्ला दिनहरूमा अनौपचारिक छलफलहरू भइरहेका छन्। उनले भने ‘प्रधानमन्त्रीज्यूले यसअघि नै पार्टी एकताका लागि छ बुँदे प्रस्ताव सार्वजनिक गरिसक्नुभएको छ। त्यसैको वरिपरि रहेर कुराकानी भइरहेको छ, छिट्टै बैठक बोलाउने तयारी छ।’
यसअघि एमाले अध्यक्ष ओलीले जेठ २३ मा वक्तव्य जारी गर्दै पार्टीभित्रको विवाद समाधानका लागि छ बुँदे प्रस्ताव अघि सारेका थिए। अध्यक्ष ओलीले खनाल/नेपाल पक्षक सांसदहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिए आफू जेठ ३ अघिको अवस्थामा फर्कन तयार रहेको बताएका थिए। २०७५ जेठ ३ मा तत्कालीन नेकपा माओवादी केन्द्र र एमालेबीच एकता भएको थियो। अहिले पनि केही पूर्वमाओवादी नेताहरू एमालेमा छन्।
प्रवक्ता ज्ञवालीले स्थायी कमिटी बैठकमा रामबहादुर थापा ‘बादल’ सहित पूर्वमाओवादीबाट आएका स्थायी कमिटी सदस्य पनि सहभागी हुने बताए। यसअघि अध्यक्ष ओलीले एकलौटी रूपमा बैठक राख्दै निर्णय गर्दै आएका थिए। केही समयअघि बसेको स्थायी कमिटी बैठकले त राष्ट्रिय राजनीतिमा सबै निर्णय लिने अधिकार ओलीलाई दिएको थियो। ओलीले बैठकमा बोलाउने तयारी गरे पनि अहिलेकै अवस्थामा खनाल/नेपाल पक्षका नेताहरू स्थायी कमिटी बैठकमा सहभागी हुन्छन् कि हुन्नन् भन्ने एकिन भइसकेको छैन। खनाल/नेपाल समूहले यसअघि नै ओलीको ६ बुँदे प्रस्ताव चालबाजीमात्र भएको बताइसकेको छ।
हिजो मात्रै नेपालको कोटेश्वस्थित निवासमा काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको विपक्षी गठबन्धनको बैठक बसेको थियो ।