उपेन्द्रले लुकाउँदै आएको पुस ७ को निर्णयमा के छ ?

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)का प्रथम अध्यक्ष महन्थ ठाकुरले आफूलाई केन्द्रीय कार्यकारिणी समितिले दिएको अधिकारको निर्णय प्रतिलिपी निर्वाचन आयोगमा बुझाएका छन् । जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव समूहले ठाकुरप्रति कीर्ते गरेको आरोप लगाइरहेका बेला उनले निर्णय नै आयोगमा बुझाएका छन् ।

जसपा स्रोतबाट प्राप्त जानकारीअनुसार २०७७ पुस ७ गते केन्द्रीय कार्यकारिणी समितिले तीन महत्वपूर्ण निर्णय गरेको थियो । ती तीन निर्णयमध्ये प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन गर्ने र त्यसको तय गरिएको कार्यक्रमसम्बन्धी एक निर्णयमात्रै यादव समूहले सार्वजनिक गर्दैैआइरहेको छ । तर त्यस दिन भएका अन्य दुई महत्वपूर्ण निर्णय आफूविरुद्ध भएपछि यादव समूहले लुकाउँदै आएको छ ।

यादव समूहबाट एक पछि अर्काे आरोप लगाउन थालिएपछि अध्यक्ष ठाकुरले निर्णयको प्रतिलिपि नै निर्वाचन आयोगमा बुझाएका छन् । त्यस मितिमा जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेको पहिलो निर्णयमा यस्तो लेखिएको छ–‘आजको बैठकले जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको हेरफेर तथा पुनर्गठन गर्ने अधिकार पार्टीका पहिलो वरियताका अध्यक्ष मा. श्री महन्थ ठाकुरलाई प्रदान गर्ने निर्णय गरियो ।’

यसैगरी त्यसै दिनको दोस्रो निर्णयमा लेखिएको छ, ‘अब उपरान्त केन्द्रीय कार्यकारिणी समितिको बैठक दुवै जना अध्यक्षले सहमतिमा बोलाउन सक्नेछ वा पहिलो वरियताको अध्यक्षले आवश्यकताअनुसार बोलाउन सक्नेछ । वैठकबाट भएको निर्णय प्रमाणीकरण तथा पार्टीको आधिकारिक पत्राचारको आधिकार पहिलो वरियताको अध्यक्षलाई दिने निर्णय गरियो ।’

अध्यक्ष ठाकुरले जसपाले गरेको त्यो निर्णयको माइन्यूटसहित विभिन्न १२ थान प्रमाण कागजात निर्वाचन आयोगमा बुझाएका छन् । ती कागजातसहितको निवेदन आयोगमा १३९२ नम्बरमा दर्ता भएको छ । ठाकुर समूहले निर्णय नै आयोगमा बुझाइदिएपछि यादव समूह थप आक्रोशित बनेको छ । त्यसैको परिणामस्वरुप डम्बर खतिवडाको नाममा यादव समूहले विज्ञप्ति जारी गरिरहेको छ । यादव समूहले ठाकुरलाई नै कीर्ते गरेको आरोप लगाइरहेका बेला आयोगमा बुझाइएको निर्णयसहितको कागजातले यादव समूह नै कीर्तेको बाटो अख्तियार गरेको प्रष्ट भएको छ ।

जसपाका नेता डा. सुरेन्द्रकुमार झाले यादव समूहबाट नै नक्कली र फर्जीको काम भइरहेको दावी गरे । उनले भने–‘‘पुस ७ गतेको बैठकबाटै प्रथम अध्यक्ष ठाकुरलाई अधिकार दिइएको छ, त्यसलाई लुकाएर यादव समूहले भ्रम फैलाउँदै आएको छ, तीन वटा निर्णयमध्ये दुई वटा पार्टीको आन्तरिक रहेकाले सार्वजनिक गरिएको थिएन, आन्दोलनको मात्रै सार्वजनिक गरियो । अहिले अति नै भएपछि निर्वाचन आयोगलाई बु्झाएका छौ ।’’ अध्यक्ष ठाकुरले पुस ७ गतेको बैठकले दिएको अधिकार नै प्रयोग गरी केन्द्रीय कार्यकारिणी समिति हेरफेर र पुनर्गठन गरेका छन् । उनले विभिन्न २० जना जुझारु नेतालाई समितिमा समावेश गरेका छन् । यसअघि विभिन्न कारणले छुटेका तर पार्टीभित्र अत्यन्त सक्रिय रहेका ती नेताहरुलाई समितिमा राखेर जिम्मेवारी दिइएको जसपाले जनाएको छ ।

सत्ताबाट लज्जाजनक बहिर्गमन भएपछि फुटको संघारमा पुगेका यादव नेतृत्वको समाजवादी पार्टीलाई ठाकुरले नै एकता गरी बचाइ दिएका थिए । ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीसँग रातारात एकीकरण गरिएपछि यादवको सपा जोगिएको थियो । तर अहिले तिनै यादव सत्ता पाउन पुनः पार्टी विभाजनतर्फ उद्दत छन् । उनको यस्तै रवैयाले उनको पक्षमा रहेका विमल श्रीवास्तव, उमाशंकर अरगरिया, रेणुका गुरुङ लगायतका नेताहरु यादव समूह छाडेर ठाकुरलाई समर्थन गरेका छन् । यादव समूहका रहेका अझ कति जना ठाकुर समूहमा आउने तयारीमा रहेका बताइएको छ ।