बाढीपीडितका लागि निर्माण हुँदै ५० घर

कालीकोटको नरहरिनाथ गाउँपालिकाका बाढीपीडितका घर निर्माण धमाधम भइरहेका छन् । विसं २०७७ असारको अविरल वर्षापछि गएको बाढीपहिरोले घर भत्काएपछि विस्थापित भएका नरहरिनाथ गाउँपालिका–६ र ७ का ५० घर निर्माण हुन लागेका हुन् ।

स्थानीय सरकारसँगको समन्वयमा प्रदेश सरकारको बजेटमा वडा नं ६ र ७ माल्कोट, रुप्सा, भाडगाउँ र खाती रुप्साका ५० घर सुगरखालमा स्थान्तरण गर्न लागिएको हो । सुगरखालमा नयाँ बस्तीको निर्माणको काम धमाधम भइरहेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर बिष्टले जानकारी दिए ।

प्रदेश सरकारको एक करोड ७० लाखमा ती घर निर्माण हुने भएका छन् । “बाढीपहिराबाट गाउँपालिका–६ र ७ वडाका १८५ घरधुरी विस्थापित भएका थिए ।” उनले भने, “पहिलो चरणमा ५० घरधुरी बस्ती सारेर नयाँ घर निर्माण भइरहेको छ । आगामी आर्थिक वर्षमा बाँकी घर निर्माण हुनेछन् ।” एकीकृत नमूना बस्तीका रूपमा विद्यालय, खानेपानीलगायत पूर्वाधारका संरचना पनि निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष बिष्टले बताए ।

“नयाँ बस्तीमा दुई विद्यालय मर्ज गरेर एउटै विद्यालय निर्माण गरेका छौँ”, उनले भने, “विद्युत् पोल गाडिएको छ । विद्युत् पुर्‍याउनका लागि अहिले प्रक्रिया अगाडि बढाइएको छ ।”

नयाँ बन्न लागेको बस्तीमा खानेपानीको काम भइरहेको र ‘एक घर, एक धारा’को अवधारणामा खानेपानी पुर्‍याइने अध्यक्ष बिष्टले जानकारी दिए । “२५ लाखमा खानेपानी धारा निर्माण भएका छन् । रेडक्रसको २० लाख, गाउँपालिकाको पाँच लाख लगानी छ ।”  प्रतिघर निर्माणका लागि पाँच लाख ४० हजार खर्च लाग्ने गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले बताइन् । “एउटै मोडेलका चारकोठे घरहरू निर्माण हुँदैछन्”, उहाँले भन्नुभयो, “बस्तीमा विद्युत्, खानेपानी लगायतका अन्य संरचना निर्माण हुनेछन् ।

प्रदेश सरकारले बस्ती निर्माणका लागि उपलब्ध गराएको एक करोड ७० लाख अनुदानबाट घर निर्माण भइरहेको गाउँपालिका उपाध्यक्ष बुढाले बताइन् । गत साल गएको बाढीपहिराका कारणले नरहरिनाथ गाउँपालिकामा १६ जनाले ज्यान गुमाएका थिए भने २०६ घरपरिवार विस्थापित भएका थिए ।