
झापामा धमाधम सशस्त्र प्रहरीको कोरोना भाइरसको परीक्षण गरिँदैछ । सीमा क्षेत्रमा खटिएका ३५ जना सशस्त्रमा कोरोना संक्रमण पुष्टिसँगै सशस्त्र प्रहरीको स्वाब सङ्कलन गरी कोरोनाको पिसीआर परीक्षणका लागि विराटनगर पठाउन थालिएको छ ।

यसैक्रममा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापामा कार्यरत ७० जना सशस्त्रको कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।



शनिवार ७० जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । सीमामा तैनाथ सशस्त्र प्रहरीको रिपोर्ट नेगेटिभ आएपछि भद्रपुर नाका अहिलेसम्म कोरोना भाइरसबाट सुरक्षित रहेको पाइएको छ ।

७० जना सशस्त्रमध्ये अधिकांश भद्रपुर नाकामा खटिएका थिए । अहिलेसम्म झापामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेकुवा राजश्व तथा भन्सार गस्ती सुरक्षा काँकडभिट्टामा कार्यरत ३२ र सशस्त्र प्रहरी पाथीभरा गण पाडाजुँगीका ३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
पहिलो पटक झापामा जनपथ प्रहरीमा कोरोना पुष्टि
क्वारेन्टिन सुरक्षाका लागि खटिएकी एक जना महिला प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । उनी विर्तामोडको क्वारेन्टाइनमा खटिएकी थिइन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार क्वारेन्टिन सुरक्षाका खटिएकी ती महिला प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । विगत केही दिनदेखि सुरक्षा निकायका धेरै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यसअघि झापाका ३२ जना सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको थियो । पहिलो पटक झापामा जनपथ प्रहरीमा कोरोना पुष्टि भएको छ ।