
महिला तथा बालिकाहरूलाई दुर्ववहार गरेको आरोपमा प्रहरीले रामेछाप सुनापति गाउँपालिका–५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका–६ भत्केकोपाटी नजिक बस्ने ३६ वर्षीय चमारसिं तामाङलाई पक्राउ गरेको छ ।
पुसदेखि यता दर्जनौँ बटुवा महिला तथा बालिकालाई अभद्र व्यवहार गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
अनुसन्धानका क्रममा तामाङले बिहान उज्यालो नहुँदै र साँझ अँध्यारो भएपछि मोटरसाइकलमा सवार भई एकान्तस्थानमा पैदल हिँडिरहेकाहरूलाई दुर्ववहार गर्ने गरेको खुलेको छ ।
तामाङलाई पक्राउ गरेको खबरले एक दर्जनभन्दा बढी पीडित महिला बुधवार प्रहरीको सम्पर्कमा आएको र त्यसमध्ये छ जनाले किटानी जाहेरीसमेत दिएका छन् । तामाङलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयमा पेश गरेर प्रमुख जिल्ला अधिकारीबाट सात दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।